सोमबार ७, बैशाख २०८३ Mon,20 Apr 2026

सर्वाधिकार सुरक्षित

साधुसन्तले भनेकै भरमा नेपालमा राजतन्त्र फर्किँदैन : विमलेन्द्र निधि



13:58 बुधबार ५ , चैत्र २०८१

इटहरी । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले साधुसन्तले भनेर देशमा राजतन्त्र नफर्किने टिप्पणी गरेका छन्।  प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै निधिले राजतन्त्र फर्किन सक्ने अवस्था नै नभएको बताएका हुन्। 'देशी-विदेशी साधुसन्तले भनेर नेपालमा यो आउँछ त्यो आउँछ कसैले सोच्छ भने नसोचे हुन्छ,' उनले भने, 'स्मरण गरौँ, हामीले यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी भएको थियो। हामीलाई रोक्न पनि खोजिएको थियो। हामी चाहिँ आफ्नै नेपाल, नेपाली फस्टलाई हामी आफैँले प्रयोगबाट प्रमाणित गरेका छौँ।' 

उनले कुनै पनि हालतमा राजतन्त्र नर्फकने दाबी गरेका छन्। जनताले राजतन्त्र नचाहेको र जनताको विरुद्धमा गए आफूहरू जे पनि गर्न तयार रहेको चेतावनी दिए।'कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन। कुनै पनि किसिमको राजतन्त्र फर्किने अवस्था छैन,' उनले भने, 'जनताले चाहेको छैन, रुचाउँदैन। त्यसका लागि जे पनि गर्न तयार छौँ, हेक्का रहोस्।'

उनले देशी–विदेशी साधुसन्तले भनेजस्तो राजतन्त्र आउँछ भन्ने नसोच्न चेतावनी दिए। उनले नेपालको अन्तिम राजा ज्ञानेन्द शाह भएको बताए। संविधान बनाउने बेलामा निर्णय स्वीकार गरेको भन्दै उनले उनको प्रशंसा पनि गरे। 'इतिहासमा हेर्ने हो भने राजतन्त्र अन्त्य हुने बेलामा कस्तो दुर्गति हुन्छ तत्कालीन राजाहरूको,' उनले भने, 'नेपाली जनताले त्यो धैर्यता, सहनशीलता, सम्मान दिएको छ। त्यो सीमालाई पार गर्न हुँदैन, सचेत गराउन चाहन्छु।' पछिल्लो समय राजावादीहरूको सक्रियता बढेसँगै अन्य दलका नेताहरू भने सशंकित हुँदै अभिव्यक्ति दिँदै आइरहेका छन्।  

Featured News

Advertisement