स्वदेश फर्कन चाहने नेपालीलाई सरकारले ल्याउँने, सेना समेत परिचालन (कार्य योजनाको विवरण सहीत)
जेठ १८, काठमाण्डौँ ।
स्वदेश फर्कन चाहने नेपालीहरुलाई नेपाल ल्याउँन र उनीहरुको व्यवस्थापन गर्न सरकारले नेपाली सेनालाई समेत परिचालन गर्ने भएको छ ।
उच्चस्तरीय समन्वय समितिक संयोजक उपप्रधानमन्त्री इश्वर पोखरेलका अनुसार विभिन्न देशबाट नेपाली नागरिक ल्याउँने प्रक्रिया शुरु भइसकेको छ । यसका लागि नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्ययोजना २०७७ मन्त्री परिषदले पारित गरिसकेको छ ।
भारतबाहेक तेस्रो मुलुकबाट आउने नेपाली नागरिकको पहिचान, प्राथमिकिकरण, विवरण संकलन तथा सरोकारका निकायहरुमा उपलब्ध गराउने जिम्मेवारी परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगहरुलाई दिइएको छ ।
नेपाल भारत सीमाका प्रवेश विन्दूमा नेपाली नागरिक आएपछि उनीहरुलाई सुरुमा होल्डिङ सेन्टरमा राखिने छ । होल्डिङ सेन्टरमा उनीहरुको ठेगानासहितको व्यक्तिगत विवरण तयार गरिने छ । त्यसमा जिल्ला प्रशासन, स्थानीय तह, नेपाली सेना र प्रदेश सरकारको संलग्नता रहने कार्ययोजनामा उल्लेख छ ।
त्यस्तै हवाइ उडानबाट आउने व्यक्तिले आफ्नो साथमा लिई आएको हवाइ उडानअघि सात दिनभित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्र विमानस्थलमा देखाउनुपर्नेछ । यो कामका लागि स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै टोली खटाउनेछ ।
क्वारेन्टिनहरुको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय तहलाई दिइएको छ । उनीहरुलाई शहरी विकास मन्त्रालय, प्रदेश सरकारले सहयोग गर्नेछ ।
विस्तृत कार्ययोजनामा स्थानीय तहलाई क्वारेन्टिनको बन्दोबस्ती र क्वारेन्टिनमा रहँदाको खाना खर्च बापत प्रतिदिन प्रतिव्यक्ति १७५ रुपैयाँका दरले १४ दिनको लागि हुने खर्च बापतको रकम अर्थ मन्त्रालयले स्थानीय तहलाई बिल अनुसार उपलब्ध गराउने भएको छ ।










