इटहरीका कोरोना सङ्क्रमितहरुको घर–घरमा उपमेयरको उपस्थिति : आडभरोसाको झिल्को
रामप्रसाद खरेल\इटहरी
कोरोना सङ्क्रमितहरु भाइरसलेभन्दा वढि सामाजिक दुव्र्यवहारले आतङ्कित भइरहेको समयमा भदौँ ७ गते इटहरी र धरानबाट सञ्चालित केही अनलाईन पत्रिकाहरुमा विभिन्न शिर्षकमा एउटा समाचार प्रकाशन भयो इटहरी उपमहानगरपालिकाको कामबारे । समाचारका शिर्षकहरु यस्ता थिए ः
“होम आइसोलेसनमा बसेकाहरुलाई हौसला प्रदान गर्न उपमहानगरको तर्फबाट घरमै पुगेर भेटघाट शुरु ।”
“हौसला बढाउन सङ्क्रमितको घरघरमा उपमहानगर ।”
“कोरोना सङ्क्रमितको मनोबल बढाउन घरदैलोमा उपमेयर गौतम ।”
“सङ्क्रमितलाई हौसला प्रदान गर्न इटहरीकी उपमेयर घरघरमा, सङ्मित भन्छन् – “हामीलाई सरकार भएको महशुस भयो ।”
“सङ्क्रमितको घरघरमा इटहरी उपमहानगर, सङ्क्रमित भन्छन् सरकार रहेछ ।”
इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम स्वास्थ्यकर्मीसहितको टोली लिएर कोरोना सङ्क्रमितहरुको घरघरमा जानुभयो फलफुल र गुर्जो लिएर । वहाँहरुको हालखबर सोध्नुभयो र स्वास्थ्य लाभको कामना गर्नुभयो । भदौँ ७ गते जम्मा ११ सङ्क्रमितहरुको घरआँगनमा पुग्नुभयो । यसमध्ये केही होम आइसोलेसनमा वसिरहेका छन् भने केही चै धरान वीपी क्याम्पमा वसेर भाइसर मुक्त भइसकेका व्यक्तिहरु छन् । उपमहानगरपालिकाका प्रेस संयोजक लिलाराज भट्टराईका अनुसार बाँकी सबै सङ्क्रमितहरुको घरमा पुग्ने योजना छ ।
उपमेयर लक्ष्मी गौतमको टोलीमा इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमला र हेल्थ असिस्टेन्ट धर्मानन्द भट्ट पनि रहनुभएको थियो ।
केहीदिन अघि इटहरीका एक यूवा अस्पतालबाट निको भएर घर आएपछि छिमेकीहरुले वस्न नदिएको समाचार प्रकाशन भएको थियो । यसले इटहरीको छविमा धमिलो लागेको थियो । एकदुइ दिन पछि सर्वपक्षिय छलफल गरेर ती यूवाको घरमै वस्ने वातावरण भयो ।
इटहरीमा भदौँ ७ गतेसम्ममा २५ जना होम आइसोलेसनमा रहेका छन् ।
सङ्क्रमितहरुको घर–घरमा उपमेयरको भ्रमणले समाजमा एउटा सकारात्मक सन्देश प्रवाह भएको छ । अहिले यस्तै सकारात्मक सन्देशको आवश्यकता थियो । यसले सङ्क्रमितहरुलाई समाजले हेर्ने नकारात्मक दृष्टिकोणामा सकारात्मक परिवर्तन ल्याउँने छ । अहिले कोरोना सङ्क्रमितहरु समाजको हेलोहोचोले प्रताडित भएका छन् ।
हामीले केही दिन यता मिडियामा सार्वजनिक भएका समाचारलाई हेर्ने हो भनेपनि समाजले कसरी हेरेको छ सङ्क्रमितहरुलाई भन्ने कुराको झल्को दिन्छ । देशको राजधानि काठमाण्डौँ, प्रदेश एकको राजधानि विराटनगर, चितवन लगायतका विकसित भनिएका ठाउँमा नै सङ्क्रमितहरुले समाजको दुव्र्यावहर आतङ्कको सामना गर्नुपर्यो । उदारहणको रुपमा केही दृष्टान्तहरुलाई लिन सकिन्छ । जस्तै ः
भदौँ ६ गते सिभिल अस्पतालका डाक्टरलाई काठमाण्डौँ वानेश्वरका मान्छेहरुले उनि वसेको होस्टलमा वस्न नदिने भन्दै आक्रमण गरे ।
चितवनको एक अस्पतालका डाक्टर विश्वबन्धु बगालेलाई पनि हदैसम्मको अपमान गरे छिमेकीहरुले । वहाँको घरमा सङ्क्रमितको घर भन्दै ब्यानरसमेत टागे ।
विराटनगरका डा. ज्ञानेन्द्रमानसिंह कार्कीले पनि त्यति नै दुव्र्यवहार भोग्नुपर्यो ।
नारायणी अस्पलातका डाक्टरले पनि दुव्र्यवहार भोग्नुपर्यो । चितवनकै एक नर्सले पनि छिमेकीबाट दिएको तनावको सामना गर्नुपर्यो ।
पश्चिममा एक युवकले समाजको अपहेलना सहन नसकेर कोरोनालाई जितेर आएपनि आत्महत्या गरे ।
यी घटनाले कोरोना सङ्क्रमितहरुलाई हेर्ने समाजको कस्तो दृष्टिकोण छ भन्ने चित्र देखाउँछ ? यस्तो हुनुको पछाडी हाम्रो चेतना स्तरको कम्जोरी नै हो । मानिसहरुले भुलेका छन कि भोलि कोरोना आफूलाई पनि लाग्न सक्छ भनेर ।
समाजको यस्तो नकारात्मक सोच र व्यवहारलाई परिवर्तन गर्न इटहरी उपमहानगरपालिकाले गरेको कामले पक्कै पनि सहयोग पुग्छ । मानिसहरुमा जुन भ्रम छ त्यसलाई चिर्ने यो एउटा प्रयास हो । यसलाई निरन्तरता दिनुपर्छ ।
इटहरी उपमहानगरपालिकाकी उपमेयर यो कामलाई देशैभरका पालिकाहरुले अनुकरण गर्ने हो भने सङ्क्रमितहरुलाई हेर्ने समाजको घृणित सोच परिवर्तन हुन्छ । आजसम्म त्यति धेरै सङ्क्रमण छैन भोलिका दिनमा झन धेरै हुनेपनि उतिकै सम्भावना छ । यदि सङ्क्रमितहरुलाई समाजले वहिष्कार गर्दै जाने हो भने समाजमा कस्तो स्थिति होला ? वेलैमा सजग हुनुपर्छ ।
जनप्रतिनिधि भनेकै अप्ठ्यारोमा चाहिने हो । यो कुरा कोरोना सङ्क्रमितको सन्दर्भमा उपमेयर लक्ष्मी गौतमबाट केही हदसम्म पुरा भएको छ ।
जनप्रतिधिहरु सङ्क्रमितहरुको घरमा पुगेकै भरमा निको भइहालिने त होइन तर यसले आत्मबल वढाउछ । दोस्रो समाजको नकारात्मक र घृणित सोचलाई परिवर्तन पनि गर्छ । जनप्रतिनिधिहरुले हौसलासँगै औषधी उपचारमा समेत नागरिकहरुलाई उतिकै ध्यान दिनुपर्छ ।
इटहरी उपमहानगरपालिकाले पिसिआर परिक्षण र आइसोलेसन निमार्ण पनि दिर्घकालिन योजना सहित लाग्नुपर्छ । त्यसबाट अन्य पालिकाहरुले सिक्न सकुन ।
बजारको व्यवस्थापन, नागरिक शिक्षा र चेतना साथै नगरवासीहरुको विहानवेलुकाको न्युनतम आवश्यकताको बिषयमा समेत स्थानिय सरकारले चासो राख्नुपर्छ ।






