जनरल इन्स्योरेन्सको आइपिओ आजबाट खुल्ला (कम्पनीको विवरण सहित)
असोज ११ गते, इटहरी ।
जनरल इन्स्योरेन्स कम्पनीले आज (असोज ११) बाट प्राथमिक शेयर (आइपिओ) निष्काषन गरेको छ । कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता आइपिओ निष्काषन गरेको हो ।
न्युनतम दर प्रतिशेयर १०० रुपैयामा नै यसले आइपिओ निष्काषन गरेको छ । निष्काषन गरिएको शेयर मध्ये ४ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आईपीओमा छिटोमा असोज १४ गतेसम्ममा आवेदन दिनुपर्नेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरे असोज २६ गतेसम्म शेयर बिक्री खुला हुने कम्पनीले जनाएको छ ।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । त्यसपछि संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व हुनेछ ।
आफूले डिम्याट खाता खोलेको बैंकमा गएर वा मेरो शेयरमार्फत आइपिओको आवेदन दिन सकिन्छ । न्युनतम १० कित्ता आवेदन दिन पाइन्छ ।
धेरै आवेदन परेमा गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले न्युनतम १० कित्ता शेयर पाउनेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ भने प्रत्याभुतकर्तामा नेपाल एसबिआई मर्चेन्ट, सिद्धार्थ क्पापिटल, एनएमबि क्यापिटल रहेका छन् ।
यो कस्तो कम्पनी हो ?
२०६४ मंसिर १० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका जनरल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा व्यवसाय गर्छ । यस कम्पनीले २०७५ जेठ २९ गते बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी व्यवसायिक कारोबार गर्न स्वीकृती पाएको थियो । कम्पनीले २०७५ असार ६ गतेदेखि निर्जीवन बीमा सम्बन्धी व्यवसायीक कारोबार गर्दै आइरहेको छ ।
कम्पनीको रजिष्टर्ड (प्रधान कार्यालय) कठामाडौं महानगरपालिकाको वडा नं. १, हात्तिसारमा छ । हाल कम्पनीको कम्पनीको १४ जिल्लामा ३९ वटा शाखा तथा उपशाखा कार्यालयहरू छन् ।
आइपिओ पछि कम्पनीको चुक्ता पुँजी १ अरब पुग्नेछ । संस्थापकहरुको ७० करोड र सर्वसाधरणको ३० करोड चुक्ता पुँजी रहनेछ ।
संचालक समितिमा को–को छन ?
यस कम्पनीको अध्यक्ष कुनल कायल रहनुभएको छ । शशीराज बज्रचार्य, कृष्ण वोहोरा, रामचन्द्र खनाल र दिपेन्द्र अग्रवाल बोर्ड सदस्य रहनुभएको छ । कम्पनी सचिवमा रामप्रसाद पौडेल रहनुभएको छ ।
प्रमोटरहरुको विवरण ।
यस कम्नीको आधरभूत प्रमोटरमा व्यक्ति तथा संस्थाहरु गरी २७ जना रहेका छन् । वेष्ट फाइनान्स, सेञ्चुरी कर्मशियल बैंक, साइन रेसुङ्गा बैंक, मेघा बैंक नेपाल, सांग्रिला डेभल्पमेन्ट बैंक, गोर्खाज फाइनान्स, मुक्तिनाथ बैंक र जनता बैंक प्रोमटर सदस्यहरु रहेका छन् । जनता बैंक अहिले गोल्बल आइएमइ बैंमा गाभिइसकेको छ । यस वाहेक १९ जना व्यक्तिहरु प्रमोटरहरु रहेका छन् ।
लाभांश क्षमता ।
कम्पनीले आर्थिक वर्ष २०७७÷७८ मा ५ प्रतिशत, २०७८÷७९ मा ७ प्रतिशत, २०७९÷८० मा १० प्रतिशत र २०८०÷२०८१ म १५ प्रतिशत लाभांश दिन सकिने प्रक्षेपण गरेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ २५ पैसा र प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ २ पैसा रहेको छ । दोस्रो वजारमा शुरुवातमा यस कम्पनीको मूल्य १०४ रुपैयाँ २ पैसादेखि ३१२ रुपैयाँ ६ पैसा सम्म हुनेछ ।
कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी वीवी प्लस रेटिङ्ग प्रदान गरेको छ । त्यसले कम्पनीको वित्तीय दायित्व समयमै सेवा पुर्याउन सक्ने मध्यम जोखिम भएको जनाउछ ।
यसैगरी, इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपि आईपीओ ग्रेड ४ प्रदान गरेको छ । त्यसले कम्पनीाको अवस्था औषत रहेको जनाउछ ।






