विष्णुपादुकाका पहिरो पिडितहरुसँग सांसद भिम आर्चाय, घर पूननिमार्णको लागि प्रदेस सरकारसँग पहल गर्ने
असोज १२ गते, इटहरी ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नम्बर एक इन्चार्ज तथा सांसद भिम आर्चायले धरान २० आँपटारको पहिरो पिडितहरुसँग भेटघाट गर्नुभएको छ । नेकपाका अन्य नेताहरुसँगै आर्चाय पहिरो स्थलमा पुगि स्थलगत निरिक्षण गर्नुभएको हो ।
आर्चायले पहिरोको कारण विस्थापित भएका सातै परिवारको घर पूननिमार्णको लागि प्रदेश सरकारसँग पहल गर्ने प्रदिवद्धता समेत जाहेर गर्नुभएको छ ।
नेकपाका स्थानिय नेताहरुसँग समेत यो समस्या समाधानको लागि छलफल गर्नुभएको छ । नेकपा धरान उपमहानगर कमिटि अध्यक्ष नारायण सुवेदीले भन्नुभयो – “ उहाँले पहिरोले के कति क्षति भयो, विस्थापित परिवारको समस्या के छन् भनेर स्थलगतरुपमा गएर बुझ्नु भएको हो । पुर्नस्थापना कहाँ गर्ने भन्ने समस्या छ, त्यसबारे पनि उहाँले जग्गा खोजी गर्न भन्नु भएको छ ।”
निरन्तर बर्षाले गर्दा एक साताअघि विष्णुपादुकाको आँपटार क्षेत्रमा पहिरोसँगै जमिन चिरा परेर ७ घर पुर्णरुपमा बस्न नमिल्ने गरि क्षति पुगेको थियो । ती परिवारलाई सुरक्षित जग्गामा टेण्ट हालेर राखिएको छ ।
विस्थापितहरुलाई कहाँ बासको व्यवस्था गर्ने भन्ने चिन्ता छ भने तत्कालको लागि खानेपानी र शौचालयको पनि समस्या छ । विस्थापितहरुलाई केही संघसंस्थाहरुले राहत पनि वितरण गरिरहेका छन् ।
सांसद तथा नेता आचार्यले खानेपानी र शौचालयको पनि चाडै व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
आचार्यसँग प्रदेश सांसद उमिता वराइली, नेकपाका नेताहरु मुक्साहांग मेन्यांबो, अइन्द्र बेघा, चोत्लुंग, प्रकाश राईलगायत पनि पहिरो स्थल जानुभएको थियो ।






