झापा मेचीनगरमा पालिय पूर्व सिचाईको सिलान्यास, दुई बर्षमा निर्माण सम्पन्न हुने
असोज १८ गते, झापा
मेचीनगर ७, सटिघट्टामा प्रदेश सरकारको लगानीमा निर्माण हुने पालिय पूर्व सिचाई योजनाको शनिवार शिलान्यास गरिएको छ । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले योजनाको शिलान्यास गर्नुभएको हो ।
योजना भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश १ तथा जलश्रोत तथा सिंचाई विकास डिभिजन झापा अन्तर्गत सञ्चालन हुने छ । ४०० बिघा जमिनलाई सिचाई गर्न पुग्ने गरी निर्माण हुने आयोजनाले यहाँका किसानले बर्षमा ३ पटक नगदे बालि उब्जाउन सक्ने हुँदा जीवनस्तर माथि उठ्न मद्धत पुग्नेमा मन्त्री कार्कीले विश्वास ब्यक्त गर्नु भयो ।
प्रदेश सांसद श्रीप्रसाद मैनालीले यहाँका जनतालाई विकास निर्माणको अनुभूति गराउने गरी प्रदेश सरकारले योजना दिएको बताउँदै केही समय अघिबाट निर्माण सुरु भएको पालिया पुल र अब सम्पन्न हुने सिंचाई आयोजनाले सो कुराको पुष्टि गरेको बताउनु भयो ।
सांसद मैनालीका अनुसार मेचीनगर–७, स्थित काँकरभिट्टा–सत्तिघट्टा, गोमनसरी जोड्ने सडक खण्ड समेत अबको २ बर्ष भित्रमा कालो पत्र गर्ने कार्यमा प्रदेश सरकार समक्ष ४ करोड सम्मको बजेट छुट्याउन आवश्यक पहल भईरहेको बताउनु भयो ।
अर्का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले जनताको जीवनस्तरसंग जोडिएका यस्ता आयोजना सम्पन्न गर्न प्रदेश सरकारकोतर्फबाट बजेटको कमी हुन नदिन यथोचित पहल गरिने बताउनु भयो ।
सिचाईं निर्माणका ठेक्कादार कम्पनी देव एण्ड सायर कन्सट्रक्सन प्रा.लि.का गणेश चौहानले कुनै दैवी प्रकोप, अवरोध नभए र प्रदेशले समयमै बजेट निकासा गरे सम्झौंता भन्दा अगावै नहर सम्पन्न गर्ने बताउनुभयो । प्रदेश १ सरकारको लगभग रु. ५ करोड ६९ लाखको लागतमा बन्ने यो नहर आगामी २०७९ साल असार मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।






