सानिमा जनरल इन्स्योरेन्सको साधारण शेयर असोज २१ बाट खुल्ला (कम्पनीको सम्पूर्ण विवरण सहित)
असोज २० गते, इटहरी ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २१ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपिओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
२७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई छुट्याइएको छ ।
उक्त आइपीओमा छिटोमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा कार्तिक ६ गते बैंकिङ समयभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ । निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आफ्नो डिम्याट खाता भएको बैंक वा वित्तिय संस्था वा मेरो सेयरमार्फत सेयर आवेदन गर्न सकिनेछ ।
कम्पनीको ईतिहास :
यो कम्पनी, कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आषाढ ७ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । बीमा ऐन, २०४९ तथा बीमा नियमावली, २०४९ अनुसार मिति २०७४ माघ २४ गते बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी कारोबार गर्न स्वीकृति प्राप्त गरी मिति २०७५ साल आषाढ २७ गतेदेखि निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
कम्पनीको शाखा संजाल :
कम्पनीले देशभर १९ कार्यालयबाट कारोवार गर्दै आएको छ।
पुँजीको अवस्था :
अधिकृत पुँजी : १ अर्ब ५० करोड
जारी पुँजी : १ अर्ब
चुक्ता पुँजी : ७० करोड ( आईपीओ अघि )
चुक्ता पुँजी : १ अर्ब ( आईपीओ पछि )
हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेको र ३० करोड बराबरको साधारणशेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ ।
संचालकहरु ः
सानिमा जनकरल इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा खेमराज लामिछाने छन् । त्यस्तै संचालक समिति सदस्यमा डा हेमन्त कुमार दवाडी, सोनाम ग्यात्सो , दिलीप श्रेष्ठ र दामोदर प्रसाद आचार्य रहनुभएको छ ।
सानिमा जनकरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा सुधुम्न प्रसाद उपाध्याय कार्यरत हुनुहुन्छ ।
वित्तीय विवरण :
सानिमा जनकरल इन्स्योरेन्सको आर्थिक वर्ष ७५र७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ० रुपैयाँ ७४ पैसा रहेको थियो भने किताबी मूल्य १०३ रुपैयाँ ७३ पैसा थियो ।
त्यस्तै आर्थिक वर्ष ७६र७७को लेखा परिक्षण हुन बाँकी तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ ६६ पैसा र किताबी मूल्य १०६ रुपैयाँ ३९ पैसा छ ।
आर्थिक वर्ष ७७र७८ मा भने प्रति शेयर आम्दानी ४ रुपैयाँ ५४ पैसा र किताबी मूल्य १०९ रुपैयाँ ०१ पैसा हुने कम्पनीले प्रक्षेपण गरेको छ र प्रक्षेपित तथ्याङ्कलाई नै आधार मान्दा कम्पनीको आर्थिक वर्ष ७८र७९मा प्रति शेयर आम्दानी ०७ रुपैयाँ ८४ पैसा रहेको छ भने किताबी मूल्य ११६ रुपैँया ८५ पैसा रहेको छ र आर्थिक वर्ष ७९र ८०मा प्रति शेयर आम्दानी १५ रुपैयाँ ८२ पैसा रहेको छ भने किताबी मूल्य १३२ रुपैँया ६७ पैसा रहेको छ।






