विद्यार्थीको पहिलो छनौट इटहरीको जनता माध्यमिक विद्यालय
असोज २२ गते, इटहरी ।
इटहरीस्थित जनता माविको कक्षा ११ मा विद्यार्थीको आकर्षण देखिएको छ । केही वर्षअघिसम्म पनि सामान्य सरकारी विद्यालयको रुपमा हेपिएको अवस्थामा रहेको जनता विद्यालयको कक्षा ११ र १२ मा पनि विद्यार्थीको आकर्षण बढ्दो छ ।
विधालय प्रशासनका अनुसार गतवर्ष कक्षा ११ मा ३५० जना विद्यार्थी भर्ना गरिएको थियो ।
अंग्रेजी माध्यमबाट अध्यापन सुरु गरेको जनता माध्यमिक विद्यालयले विद्यालय भर्ना गर्दा प्रवेश परीक्षा लिने गरेकोछ । यो वर्ष भने कोभिड १९ का कारण प्रवेश परिक्षा हुन नसक्दा आवेदन दिने सबै विद्यार्थीको भर्ना लिइएको छ ।
“कक्षा ११ मा राम्रा स्कुलका राम्रा विद्यार्थीहरुसमेत भर्नाको लागि आइरहेका छन्”, विद्यालयका प्राचार्य छत्रपती ढुंगेलले भन्नुभयो – “हामीले यो पटकदेखि विद्यालयको अध्ययन वातावरण अझ राम्रो र स्तरीय बनाएर लागेका छौं ।”
विद्यालयसँग अहिले स्तरीय कम्प्युटर ल्याब छ । अंग्रेजी माध्यममा आइडी, प्रोजेक्टर र ल्यापटपबाट कक्षा सञ्चालन भइरहेको छ । “नेपाली माध्यमलाई पनि नमुना विद्यालय बनाउनकालागि सेवा सुविधा थप गर्दै लगेका छौं,” उहाँले भन्नुभयो । उहाँकाअनुसार अर्को वर्षबाट विज्ञान संकाय सुरु गर्ने तयारी छ । सोको लागि आवश्यक पूर्वाधार सरकारको नमुना विद्यालय अभियानअन्तर्गत निर्माण हुनेछ ।
विद्यालयको पढाइ र व्यवस्थापनबाट अविभावकहरु र विद्यार्थीहरु पनि खुसी छन् । निजी विद्यालयमा राम्रो नतिजा ल्याएर पास भइरहेका विद्यार्थीहरु पनि जनतामा भर्ना भएका छन् । सामुदायिक विद्यालयको प्रमाणपत्रको मान्यता राम्रो हुने अनि जनता स्कुलको शिक्षा निजीको भन्दा फरक नभएकोले अझ शुल्क सस्तो रहेकोले जनता स्कुल छानेको उनीहरुको भनाई छ ।
अविभावकहरुको सन्तुष्टि, विद्यालयको व्यवस्थापकीय क्षमता र व्यवस्थापन समितिको दूरगामी महत्वको योजनाका कारण जनता विद्यालयलाई नमुना विद्यालय बनाउने भनेर नेपाल सरकारले आर्थिक सहयोग गरिरहेको छ । सोअनुसार अत्याधुनिक भवन र अन्य पूर्वाधार निर्माण हुनेछन् ।
“तीन सय विद्यार्थी अट्ने गरी अत्याधुनिक विद्यालय भवन बनिरहेको छ,” भवन निर्माण समितिका अध्यक्ष दीपक ढकालले भन्नुभयो – “लोभलाग्दो नमुना स्कुल केही वर्षमै बनाएर छाड्छौं ।”
पाँच वर्षमा प्रदेशकै नमुना विद्यालय बनाउने अभियानका साथ आफूहरु लागिपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल बताउँनुहुन्छ । “कक्षा ११ र १२ मा पनि प्रविधिमैत्री कक्षा कोठाहरुको व्यवस्था गरेर पढाइरहेका छौं ।” उहाँ भन्नुहुन्छ – “ए ग्रेड ल्याएका विद्यार्थीलाई भर्ना तथा शुल्कमा भारी छुट दिने व्यवस्था छ भने नजान्ने विद्यार्थीलाई पनि जान्ने बनाउने गरी उनीहरुको व्यक्ति विशेषको क्षमता उजागर गर्ने गरी पढाइरहेका छौं ।”
दंगालका अनुसार एसइइमा राम्रो नतिजा ल्याएकाहरुलाई जनता स्कुलमा विशेष छुट र सुविधा दिइएको छ । गरीब र जेहेनदारलाई पनि छात्रवृत्तीको व्यवस्था गरिएको छ । राम्रो सिकाइ वातावरणका लागि घोकाएर भन्दा पनि बुझाएर सिकाइने गरिन्छ । बसको सुविधा र डिजिटल बोर्डसहितको स्मार्ट कक्षा कोठाको व्यवस्थालाई विद्यालयले विशेष जोड दिएको छ । अंग्रेजी माध्यमबाट पढाइ हुने कक्षाहरुमा सोको व्यवस्था गरिसकेको छ भने नेपाली माध्यमका कक्षाहरुमा समेत यसै शैक्षिक सत्रदेखि व्यवस्था गर्दैछ ।
विद्यालयका शिक्षक शिक्षिकादेखि लिएर सबै जना अहिले निजि विद्यालयकोभन्दा सरकारी विद्यालयमा राम्रो तथा गुणस्तरीय शिक्षा दिनु पर्छ भनेर लागि परेका छन् । गुणस्तरमा निजीभन्दा राम्रो शिक्षा दिने उद्धेश्यले जनता स्कुल लागिपरेको विद्यालयका सहायक प्रिन्सिपल पशुपती सिग्देलले जानकारी दिनुभयो ।






