नेकपा इटहरी संसद विघटनको विरुद्धमा, ९० प्रतिशत आफ्नो समूहमा रहेको अध्यक्ष ज्वालाको दावी
२०७७ पुस ९ गते, इटहरी ।
नेकपा इटहरी उप–महानगरपालिका का २० ओटै वडा कमिटिले ओली सरकारले गरेको संसद विघटनको विरुद्धमा एक जुट हुने घोषणा गरेका छन् । नगर कमिटिले यस अघि नै विज्ञप्त प्रकाशित गर्दै विरोध जनाइसकेको छ ।
नेकपा इटहरीका सबै वडा कमिटिका अध्यक्ष र सचिवले संयुक्त हस्ताक्षर गरेको विज्ञप्ती जारी गर्दै ओली सरकारको कदमका विरुद्ध एकजुट भएर लाग्ने घोषणा गरेका छन् । १२ र १७ वडाका अध्यक्ष र १५ नम्बर वडाको सचिवले भने हस्ताक्षर गरेका छैनन् ।
नेकपा इटहरीका अध्यक्ष वहादुरसिंह तामाङ ज्वालाले आफूहरुको पक्षमा संगठनमा संगठित ९० प्रतिशतभन्दा वढी नेता तथा कार्यकर्ताहरु रहेको दावी गर्नुभयो ।
नेकपा इटहरी नगर कमिटिमा ओलीको कदमका समर्थनका कुनै पनि सदस्य नरहेको अध्यक्ष ज्वालाले दावी गर्नुभएको छ ।
संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ – “कुनै पनि प्रकारको गुट फुट र विभाजनको पक्षमा नलागी एकताबद्ध भएर सिङ्गो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पक्षमा दृढतापूर्वक लाग्न साथै एकता गतिविधिको डटेर सामना गर्न अनुरोध गर्दछौँ ।”






