प्रचण्डको सुरक्षामा पूर्वलडाकु
२०७७ फागुन ६ गते, इटहरी ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाको नेतृत्व पूर्वलडाकुहरुले गर्न थालेका छन् । नेकपा बिभाजनलगत्तैदेखि प्रचण्डको सुरक्षामा पूर्वलडाकुहरुको टोली थियो । यो टोली सरकारले अहिले सुरक्षा दस्ता फिर्ता गरेपछि सार्वजनिक भएको हो ।
पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमाण्डर प्रकाश पाण्डे (प्रलोक) को नेतृत्वमा १० जनाको टोली प्रचण्डको सुरक्षामा खटाइएको छ । टोलीका सबै सदस्यहरु युवा संघमा आबद्ध छन् भने उनीहरुले नै प्रचण्डको सुरक्षाको अगुवाइ गर्दै आएका छन् ।पाण्डे नेतृत्वको टोलीले नै देशभर भएका विरोध प्रदर्शनमा पनि सुरक्षा प्रवन्ध मिलाउँदै आएको थियो ।
प्रचण्ड शान्ति प्रक्रियामा आउँदा पनि लडाकुहरुको दस्ताले सुरक्षा दिएको थियो । विगतमा सन्तु दराई (परवाना), वीरेन्द्र वीएम (मन्जिल), युवराज दुलाल (शरद)लगायतले प्रचण्डको सुरक्षा टोलीको नेतृत्व गरेका थिए ।सेना समायोजनको क्रममा स्वेच्छिक अवकास रोजेका र हाल युवा संघमा रहेका पाण्डे पनि प्रचण्डको सुरक्षामा लामो समयदेखि खटिएका एक सदस्य हुन् ।
सरकारले पूर्वप्रधानमन्त्रीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसँगै प्रचण्डको सुरक्षामा हाल दुई जना नेपाल प्रहरीका र करिब १३ जना सशस्त्र प्रहरीका टोली मात्र छन् । यसअघि प्रचण्डको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ जना र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी खटिएका थिए ।






