धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी
धरान / दुई ठूला दल नेपाली कांग्रेस, नेकपा एमालेलाई पछि पार्दै धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । पाँचदलीय गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै साम्पाङले कुल २० हजार ८२१ मत प्राप्त गरी विजय भएका हुन ।
माओबादी केन्द्र र नेकपा एसको साथ पाएका नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे । राईले यसपटक धरानमा आफूले बाजी मार्ने बताउँदै आएका थिए ।
नेकपा एमालेको गढ मानिएको धरानमा यसपटक भने एमाले तेस्रो बनेको छ । एमालेकी मञ्जु भण्डारीले कुल १२ हजार ८२५ मत प्राप्त गरिन् ।
यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका आइन्द्रविक्रम बेघा निर्वाचित भएका छन् । बेघाले २० हजार ५१० मत प्राप्त गर्दा नेकपा एमालेका पदम लिम्बूले १७ हजार ६०६ मत प्राप्त गरे ।
एमालेले धरानमा २०४९, २०५४ र २०७४ सालमा भएको स्थानीय निर्वाचनमा जितेको थियो । एमालेको ‘लालकिल्ला’ भनेर चिनिँदै आएको धरानमा २०७६ सालमा भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राईले मेयरमा बाजी मारेका थिए ।






