१५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो
काठमाडौं / आज १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो ।
दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिक) को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ ।
सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आएको छ । नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै आएको छ ।






