उदयपुरमा ट्रक दुर्घटना हुदाँ घटनास्थलमै चारजनाको मृत्यु
उदयपुर / उदयपुरमा ट्रक दुर्घटना हुदाँ घटनास्थलमै चारजनाको मृत्यु भएको छ । कटारी नगरपालिका १४ भदौरेस्थित सोमबार बिहानको राति ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्रक चालक बाराको सिमरा १ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा १ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतिर जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक शिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा आफैँ अनियन्त्रित भएर बिहान २ः३० बजेतिर दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । चालक निदाउँदा ट्रक सडकबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






