मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

विराटनगरका सुजन कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा



08:22 बिहीबार १० , माघ २०८१

इटहरी ।  गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भएका छन्। बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिएका हुन्।

कटुवालले पटकपटक गरी दुई लाख ५० हजारभन्दा बढी घरबारविहीनलाई खाना उपलब्ध गराएको र पूर्वबेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ छ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्त्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्तिभित्र चुनिएका इन्टेलिजेन्सले जनाएको छ।

सो सूचीमा बेलायतको समाजसेवामा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारी, समाजसेवीदेखि प्रोफेसर एवं चिकित्सकहरूसमेत रहेका छन्।  कटुवाल बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक हुन्। बेलायतमा दर्ता भएको परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’को सहयोगार्थ कटुवालले दुई पटक छ हजार माइलको पैदल यात्रा गरेका थिए।

गैरसरकारी संस्था कम्ब्याट स्ट्रेसले सेवा निवृत्त सैनिकलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँछ। त्यस्तै कटुवालले कोरोना सङ्क्रमणकालमा सङ्कटमा परेकाहरूलाई निःशुल्क खाना उपलब्ध गराएका थिए। पानस हेल्पिङ ह्यान्डस् च्यारिटीसमेत सञ्चालन गरिरहेका कटुवालले ‘कोभिड लकडाउन’ का समयमा एक लाखभन्दा बढी स्वास्थ्यकर्मी तथा घरविहीन मानिसलाई निःशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्डसमेत पाएका थिए।

उनले सञ्चालन गरेको सामाजिक संस्था हेल्पिङ ह्यान्डस्ले ‘प्वाइन्ट्स अफ लाइट’ अवार्ड समेत जित्न सफल भएको थियो।नेपालको विराटनगरमा जन्मिएका कटुवाल सन् १९९८ मा बेलायत गएका थिए। 

Featured News

Advertisement