शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

चितवनमा रविविरुद्ध मुद्दा दर्ता गर्न फाइल तयार



11:29 सोमबार १४ , माघ २०८१

चितवन । चितवनमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी अभियोगमा मुद्दा दर्ताका लागि फाइल तयार भएको छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले सहारा चितवन सहकारी ठगीमा अनुसन्धान सकेर प्रहरीले रविसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन आफूहरूलाई बुझाइसकेको जानकारी दिए। 

‘फाइल तयार भइसकेको छ तर यसबीच लगातारजसो बिदा परेकाले माघ २२ गतेभित्र अदालतमा अभियोजन दर्ता गरिसक्ने तयारीमा छौँ’, न्यायाधिवक्ता लुइँटेलले सोमबार बिहान बताए ।क्लालेन्डरअनुसार माघ १६ गते सहिद दिवस, १७ गते सोनाम ल्होसारको बिदा तथा १९ गते शनिबार परेको छ। अनुसन्धान प्रतिवेदनमा पूर्वगृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ।

बचतकर्ताको ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ भराउनुपर्ने प्रहरीको राय छ। यस्तै सहकारीबाट त्यो भन्दा बढि रकम जीबीसहितका प्रतिवादीका नाममा रहेका विभिन्न ५ वटा कम्पनीमा गएको निष्कर्ष प्रहरीले निकालेको छ।ती कम्पनीमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ गएको प्रहरीको अनुसन्धानमा उल्लेख गरिएको छ। जसमध्ये गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख रुपैयाँ गएको छ।

जीबी ग्रुपअफ कम्पनीमा ९ करोड ७० लाख, नेचर हब्समा ९ करोड ७३ लाख र बाँकी रकम स्प्रिङ उड रियलस्टेट एण्ड हाउजिङ प्रालि र नेचर नेस्ट कम्पनीका नाममा गएको पाइएको छ।यसमध्ये कसलाई कति बिगो कायम गर्ने भन्ने जिल्ला सरकारी वकिल कार्यालयले अन्तिम टुंगो लगाउने छ। उनीहरूलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीको राय छ।

रवि लामिछाने आइतबार मात्र बुटवलस्थित सुप्रिम सहकारी ठगीमा रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भएका छन्। यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगीमा कास्की अदालतमा ६५ लाख र काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौँ अदालतमा ६० लाख धरौटी बुझाएर छुटेका थिए। 

Featured News

Advertisement