पूर्व प्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन
तेह्रथुम । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गरेका छन् ।
रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले आज अवलोकन गरेका हुन् । पार्कको अवलोकनपछि उनले कंक्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गरे । लालीगुराँस नगरपालिकाको पहलमा निर्माण सुरू गरिएको पार्कमा युमा सङ्ग्रहालय पनि रहेको छ ।
पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले बताए। प्रचण्ड जिल्लास्तरीय राजनीतिक प्रशिक्षणको सिलसिलामा तेह्रथुम आएको प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का नेता दुर्गाप्रसाद चापागाईंले जानकारी दिए ।






