ओलीको जन्मघरनजिकै प्रचण्डले गरे जनयुद्ध स्मारकको शिलान्यास
एमाले-कांग्रेस गठबन्धन दलाल-दलाल मिलेर बनेको आरोप
इटहरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा जनयुद्ध तथा शान्ति स्मारकको शिलान्यास गरेका छन्।मंगलबार उपमहासचिव वर्षमान पुन लिएर तेह्रथुम पुगेका प्रचण्डले आठराई गाउँपालिका-३ मा जनयुद्ध शान्ति संग्रहालयको शिलान्यास तथा सोही स्थानमा निर्मित ह्वाकु बगाले सहिद पार्कको उद्घाटन गरेका हुन्।
माओवादी तेह्रथुमका नेता रघु गौतमका अनुसार स्मारक निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको छ।विसं २०५८ माघ १४ गतेका दिन उक्त स्थानमा तत्कालीन सुरक्षा फौजले १८ जना माओवादी सेनाका लडाकु र ३ जना स्थानीयको गोली हानी हत्या गरेका थिए। पाँचथरको गोपेटार प्रहरी चौकी आक्रमणमा घाइते भएका लडाकुहरूको उपचार भइरहेको स्थानलाई घेरा हाली सुरक्षाकर्मीले आक्रमण गरेका थिए।
सो स्थान प्रधानमन्त्री ओलीको गाउँ साबिकको इवा गाविस-२ तथा हालको आठराई गाउँपालिका-४ खानीगाउँनजिकै अवस्थित छ। प्रमुख दुई कम्युनिस्ट घटक एमाले र माओवादीबीच सशस्त्र माओवादी युद्धलाई जनयुद्ध वा हिंसात्मक द्वन्द्व भन्ने विषयमा मतभेद जारी रहेका बेला प्रचण्डले ओलीको गाउँमा जनयुद्ध स्मारकको शिलान्यास गरेका हुन्।
सो क्षेत्रबाट कोसी प्रदेशसभामा माओवादी केन्द्रका दुर्गा चापागाईँ निर्वाचित भएका छन्। केपी ओलीको जन्मघरनजिकै निर्माण हुन लागेको संग्रहालय ३३ रोपनी क्षेत्रफलमा फैलिएको छ। तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले २०७९ सालमा उक्त स्थानमा स्मारक र संग्रहालय बनाउने निर्णय गरेको थियो।स्मारक शिलान्यास कार्यक्रममा प्रचण्डले जनयुद्धमा पहिलोपटक ठूलो नरसंहार भएको स्थानलाई राजनीतिक पर्यटनको गन्तव्य बनाउन सकिने बताए।
‘यो क्षेत्रमा संग्रहालय निर्माण गरेर पूर्व क्षेत्रको ऐतिहासिक राजनीतिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ’, प्रचण्डले भने।एमाले र कांग्रेस सम्मिलित गठबन्धनप्रति कटाक्ष गर्दै प्रचण्डले यो गठबन्धन दल र दल मिलेर नभई दलाल-दलाल मिलेर निर्माण भएको आरोप लगाए।शिलान्यास कार्यक्रममा उक्त घटनामा मारिएका सबै २१ जनाका परिवारका सदस्यलाई प्रचण्डले दोसल्ला ओढाएर सम्मान गरेका थिए।प्रचण्डले जनयुद्धका समयमा पूर्वी कमान्डको सैन्य राजनीतिक नेतृत्व गरेका माओवादी उपमहासचिव वर्षमान पुनलाई पनि सँगै लिएर तेह्रथुम पुगेका हुन्।






