ताप्लेजुङ झडपबारे छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसदहरुलाई
इटहरी । पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार र आन्दोलनको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले आज (मंगलबार) साँझ ५ बजे पूर्वी पहाडका चार जिल्लाका सांसदहरुलाई गृह मन्त्रालय बोलाएका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबे। सुहाङ नेम्वाङलगायतलाई गृहमन्त्री लेखकले बोलाएका हुन् ।
मन्त्री लेखकले छलफलका लागि गृह मन्त्रालयमा मंगलबार अपराह्न ५ बजे बैठक बोलाएको इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङले जानकारी दिए । ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधि सभा सांसदहरूलाई छलफलका लागि बोलाइएको हो ।
गत शनिबार पाथीभरा केबलकार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । पाथीभरा मुकुम्लुङ केबलकार दर्शन प्रालिले त्यहाँ कात्तिक २३ गतेदेखि निर्माणको काम सुरू गरेको थियो । निर्माण कम्पनी पक्षधर र अर्को पक्षबीच विरोध हुँदै आएको छ ।
शनिबार भने प्रहरी र सशस्त्र प्रहरी बलको गस्तीको क्रममा शंकास्पद गतिविधि भएको सूचनाको आधारमा सुरक्षाकर्मीले एक गोठमा अनुगमन गरेको थियाे। त्यहाँबाठ हतियारहरू बामफोक, खुकुरी, गुलेली र लाठी बरामद गरेको थियो । त्यसपछि दुई पक्षबीच झडप हुँदा प्रहरी निरीक्षकसहित २१ जना घाइते भएका थिए । ‘नो केबलकार’ समूहका चार जना घाइते भएका थिए । जसमध्ये दुई जनालाई तिघ्रामा गोली समेत लागेको थियो।






