योगेशले भने– पाथीभरामा बन्ने केबलकारले कुनै पनि संस्कृति र आस्थालाई कमजोर पार्दैन
इटहरी । सत्तारुढ नेकपा एमालेका नेता एवं ताप्लेजुङका संघीय सांसद योगेश भट्टराईले पाथीभरामा बन्ने केबलकारले कुनै धर्म, संस्कृति र आस्थालाई कमजोर नपार्ने दाबी गरेका छन्। ताप्लेजुङ जिल्लाको धार्मीक, सांस्कृतिक र पर्यटकीय स्थल पाथीभरामा केबलकार निर्माणबारे बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै उनले त्यहाँ मुख्य मन्दिरलाई असर गर्ने गरि कुनै पनि संरचना समेत नबन्ने दाबी गरे।
‘केबलकार निर्माण गर्ने कम्पनीले प्रस्तुत गरेको डीपीआर र राज्यका निकायले स्वीकृत गरका परियोजना प्रस्ताव तथा वातावरणीय मूल्यांकन प्रतिवेदनका आधारमा हेर्दा केबलकारको संरचनाले कुनै पनि धर्म, संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन,’ भट्टराईले भने, ‘अहिले यसमा असहमति जनाउनु भएका साथीहरुको के भनाइ छ भने कान्छीथाम भन्दा माथिबाट केबलकारको डब्बा जाने भयो, यो आस्थामाथि समस्या भयो। त्यो यर्थात होइन।’
मुल मन्दिरभन्दा ८ सय मिटर बाहिर केबलकारको माथिल्लो स्टेशन बन्ने र त्यहाँ होटेल समेत नबन्ने उनको भनाइ छ। ‘केबलकार माथिल्लो स्टेशन मुल मन्दिरभन्दा ८ सय मिटर बाहिर छ, यो पनि अहिले सार्वजनिक विवादमा ल्याइएको विषय हो,’ भट्टराईले भने, ‘केबलकारले मन्दिरको ढोकामै मान्छेहरु पुग्ने भए। त्यहाँ फोहोर हुनेभयो भन्ने खालको चर्चा मैले सुनेको छु।’
उलने थपे, ‘माथि केबलकारको टुप्पोमा कुनै होटेल पनि बन्दैन। कुनै रेस्टुरेन्ट बन्दैन। कुनै अन्य संरचना बन्ने छैन।’ केबलकार नहुँदा वृद्ध र बालबालिकालाई त्यहाँ पुग्न समस्या हुने गरेको भट्टराईको भनाइ छ। उनले भने, ‘त्यहाँ जाने बाटो अप्ठ्यारो छ। स्थानीय मानिसलाई २ घढटा। कम हिँड्नेलाई ४ घण्टा। कसैलाई ६, ७ घण्टा लगाउनुपर्ने अवस्था छ। अपाङ्गता भएकाहरुले जानसक्ने अवस्था कम छ। बालबालिका, वृद्धवृद्धाहरुको समस्या छ। त्यसले गर्दा कतिपयले बोकाएर जानुपर्ने अवस्था पनि हामीले देखेका छौँ।’





