‘नो केबलकार’ पक्षले पनि बनायो वार्ता समिति
इटहरी । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेका आन्दोलनकारीहरूले सरकारसँग वार्ता गर्न समिति गठन गरेका छन्। सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको भोलिपल्ट ‘मुक्कुमलुङ संरक्षक संस्था’ले पनि वार्ता समिति बनाएको हो।
अमर तुम्याहाङको संयोजकत्वमा गठित समितिमा राम मादेन, सरु सिंघक, र शंकर सुब्बा सदस्य छन्। पाथीभरामा केबलकार निर्माण सुरु भएसँगै स्थानीय समुदायको विरोध चर्किएको छ। ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप हुँदा दुबै पक्ष घाइते भएका थिए।
गत शनिबारको झडपमा प्रहरीको गोली लागेर घाइते भएका ३६ वर्षीय यामबहादुर लिम्बू र १८ वर्षीय सगुन लावतीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। ताप्लेजुङका धर्म पालुङ्वा पनि गम्भीर घाइते छन्।
झडपपछि आन्दोलनरत समूहहरूले मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालीन यातायात बन्द घोषणा गरेका छन्। वार्ताबाट समाधान निकाल्न तयार रहेको जनाए पनि आन्दोलनकारीहरूले बन्द फिर्ता लिएका छैनन्।






