असई थमन विक हत्या प्रकरण : आरोपी देवेन्द्र चौधरी कारागार चलान
महोत्तरी । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका देवेन्द्र चौधरी पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत महोत्तरीका न्यायाधीश फणेश्वरी घिमिरेको इजलासले चौधरीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
चौधरीलाई जलेश्वर कारागारमा पठाइएको अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए । चौधरीलाई गत सोमबार जलेश्वर नगरपालिका–१ स्थित रामानन्द विशेश्वोर महेन्द्र क्याम्पस अगाडिबाट पक्राउ गरिएको थियो । पक्राउ परेको दिन सार्वजनिक बिदा परेकाले चौधरीलाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवारका अनुसार, चार दिनसम्म निरन्तर चलेको सुनुवाइपछि अदालतले चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
२०७२ सालको मधेश आन्दोलनका क्रममा जलेश्वरमा घाइते असई विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट निकालेर कुटपिट गरी हत्या गरिएको थियो । विक हत्या प्रकरणमा महोत्तरी अदालतले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको छ । अदालतको आदेशपछि शर्मा फरार छन् ।
यस्तै एमालेका सांसद लक्ष्मी महतो कोइरी र पुर्पक्षमा थुनामा रहेका पवन कापरलाई भने अदालतले सफाइ दिएको छ । यसअघि, यही मुद्दामा पक्राउ परेका पूर्वसभासद कौशलकुमार यादवलाई पनि पुर्पक्षका लागि जलेश्वर कारागार पठाइएको थियो । घटनामा संलग्न अरुको खोजीको जारी छ ।






