मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

पाथीभरा केबलकार विवाद : आन्दोलनरत पक्षसँग गृहमन्त्रीले भोलि वार्ता गर्ने



22:07 आईतवार २७ , माघ २०८१

इटहरी । पूर्वी ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माण विवादमा आन्दोलनरत पक्ष र गृहमन्त्री रमेश लेखकबीच वार्ता हुने भएको छ । सोमबार साँझ ६ बजे मन्त्रालयमा मन्त्री लेखक र आन्दोलनरत पक्षबीच छलफल हुने नेकपा एमालेका सांसद योगेश भट्टराईले जानकारी दिएका छन्।

सांसद भट्टराईले आइतबार आन्दोलनरत पक्षसँग संवाद गरेको पनि बताएका छन्। ‘आज बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म निर्माणाधीन पाथीभरा केवलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसँग सौहाद्रपूर्ण संवाद गरियो । उहाँहरूका कुरा सुने । मेरा कुरा भनें,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । भट्टराईले वार्ता समितिसँग निरन्तर छलफल गरेर वार्तामार्फत नै समस्याको समाधान गर्न अनुरोध गरेका छन्।

‘उहाँहरूले माननीय गृहमन्त्री ज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृह मन्त्री ज्यूलाई अनुरोध गरे,’ उनले लेखेका छन्, ‘माननीय गृहमन्त्री ज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनु भएको जानकारी गराउँदछु ।’ आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीच आज तय भएको वार्ता भाँडिएको थियो ।

आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले आफूहरु मन्त्रीस्तरीय या उच्च राजनीतिक संयन्त्रसँग मात्रै वार्ता बस्ने भन्दै छलफलबाट हिँडेका थिए । उनीहरुले आज साँझसम्मको समय दिएर मन्त्रीस्तरीय या उच्च राजनीतिक वार्ता टोली नबनाए भोलिदेखि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेका थिए । आन्दोलनरत पक्ष र सरकारबीच माघ २५ गते आज विस्तृत बैठक बस्नेसहित ६ बुँदे सहमति भएको थियो ।

Featured News

Advertisement