केबुलकारको पक्षमा बोलेको भन्दै धरानमा एक युवालाई मोसो दलेर घुमाइयाे
इटहरी । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूहले धरानमा एक जनालाई मोसो दलेको छ ।केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै मोसो दलेको हो ।
प्रहरीका अनुसार चेन्जीलाई धरान उपमहानगरपालिका–९ रहेको एक होटलबाहिर मोसो दलिएको हो । उनी कार्यक्रमका लागि भनेर धरान आएका थिए ।
पहिचान पक्षधरले दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानमा पुर्याएको थियाे।
पहिचान पक्षधर नेता अमर इजम लिम्बुका अनुसार याक्थुङ चुम्लुङको कार्यक्रमका लागि चेन्जी आएका बेला पहिचान पक्षधर युवाहरुले मोसो दलेका हुन् ।
‘मुकुम्लुङमा नो केबुलकार पक्षलाई फेसबुकमा गाली गरेको थियो, त्यहीँ माफी मगाएको,’उनले भने,‘ केटाहरुले मोसो दलेछन्, त्यसो नगरौ है भनेर सम्झाए ।’






