उदयपुरमा भारतको आर्थिक सहयोगमा निर्मित विद्यालय भवन उदघाटन
उदयपुर । उदयपुरमा भारत सरकारको सहयोगमा निर्मित जनता बेलका माध्यमिक विद्यालयको भवन उदघाटन गरिएको छ । भारत सरकारको ३.७९९ करोडको परियोजना लागतमा निर्मित जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवनको आज प्रतिनिधि सभाका सांसद डा. नारायण खड्का, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र उदयपुरस्थित बेलका नगरपालिकाका मेयर अशोक कार्कीले एक कार्यक्रमका बीच संयुक्त रूपमा उदघाटन गरेका छन् ।
विद्यालय भवन उदघाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति थियो । ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गतको भारत सरकारको अनुदान विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरू निर्माणमा प्रयोग गरिएको थियो ।
यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको थियो र उदयपुरको बेलका नगरपालिकामार्फत कार्यान्वयन गरिएको थियो । जनता बेलका माध्यमिक विद्यालय बेलका नगरपालिकाको पुरन्दहमा रहेको एक मात्र माध्यमिक विद्यालय हो । यो सन् १९६२ मा प्राथमिक विद्यालयको रूपमा स्थापित भएको थियो । पछि सन् १९७६ मा निम्न माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति गरिएको थियो । सन् २००८ मा यसलाई उच्च माध्यमिक विद्यालयमा थप स्तरोन्नति गरिएको थियो ।
यस विद्यालयमा ५०० हाराहारी विद्यार्थीहरू छन्, जसमध्ये ५५ प्रतिशत छात्रा रहेको विद्यालयले जनाएको छ ।
भवन उदघाटन कार्यक्रममा काठमाडौंस्थित भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गतको जनता बेलका माध्यमिक विद्यालयको भवन निर्माण भारत र नेपालबीचको बलियो र जीवन्त विकास साझेदारीको उत्कृष्ट उदाहरण भएको बताए । उनले नेपाल सरकारको प्राथमिकतामा आधारित यो साझेदारीलाई थप सुदृढ पार्न भारत सरकार प्रतिबद्ध रहेको समेत बताए ।
प्रतिनिधि सभा संसद डा. खड्का, बेलका नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताका लागि भारत सरकारले गरेको विकास सहयोगको महत्वपूर्ण भएको बताएका छन् । उनीहरूले निर्माण गरिएको पूर्वाधारले जनता बेलका माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्नुका साथै नेपालको पूर्वी क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन पनि मद्दत गर्ने उनीहरुले बताएका छन् ।






