बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

सभामुखले तीनपटकसम्म नाम लिँदा बैठककक्षमै रहेकी सुमना किन बोलिनन्?



17:53 मंगलवार ६ , फाल्गुन २०८१

इटहरी ।  प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठलाई सभामुख देवराज घिमिरेले नाम बोलाए। सुमना आफू बसेको ठाउँबाट न उठिन्, न बोल्न तयार भइन्। उनी संसद् बैठकभित्र बसिमात्रै रहिन्। 

सभामुखले तीनपटकसम्म 'माननीय सदस्य सुमना श्रेष्ठ,...माननीय सदस्य सुमना श्रेष्ठ,...माननीय सदस्य सुमना श्रेष्ठ' भनेर बोलाए पनि उनी अटेर गर्दै बसिरहेकी हुन्।  उनले बोल्नका लागि कुनै प्रतिक्रिया नजनाएपछि सभामुखले सांसद सुशीला श्रीपालीलाई समय दिए।  

सुमनाले किन अटेर गरिन् भन्नेबारे बुझ्न सोमबार संसद् भवनमा भएको घटना सम्झिनुपर्ने हुन्छ। सोमबारको बैठकमा सुमनाले आकस्मिक समय माग गरेकी थिइन्। भारतको ओडिसास्थित केआईआईटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु प्रकरणपछि त्यहाँ रहेका अन्य नेपाली विद्यार्थीले भोग्नुपरेको समस्याबारे उनले कुरा उठाउन खोजेको बताएकी थिइन्। 

सोमबारको बैठक सुरु भएलगत्तै उठेर उनले समय मागेकी थिइन्। तर सभामुखले तत्कालै आसनग्रहण गर्न आग्रह गरे र अन्य सांसदलाई बोल्न समय दिए। सोमबारको बैठकको उक्त समयमा बोल्नलाई सुमनाले नाम टिपाएकी थिइनन्। तर, आकस्मिक समय मागेर सदनको ध्यानकर्षण गराउने र महत्वपूर्ण विषय भए समय उपलब्ध गराउने चलन भने छ। 

उनी उठिरहेपछि सभामुखले भनेका थिए, 'यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ। आसनग्रहण गर्नुस्। यहाँलाई मैले समय दिएको छैन। तपाईं आसनग्रहण गर्नुस्।’  सांसद् श्रेष्ठ भने भारतमा नेपाली विद्यार्थीमाथि भएको दमनबारे आकस्मिक समयमा कुरा राख्नुपर्ने बताइरहेकी थिइन्। तर सभामुखले पेलेरै अन्य सांसदलाई समय दिएपछि सुमना बैठकबाट बाहिरिएकी थिइन्। 

Featured News

Advertisement