सोमबार १, असार २०८३ Mon,15 Jun 2026

सर्वाधिकार सुरक्षित

गणतन्त्रका दुइ दस्तावेज : गणतन्त्र घोषणा र राजाको अन्तिम वक्तत्व



10:51 बिहीबार १५ , जेष्ठ २०७७

गणतन्त्रको कार्यान्वयन गर्ने सम्बन्धी संविधानसभाको पहिलो बैठकबाट पारित प्रस्ताव
नेपाली जनताले २००७ साल पहिलेदेखि पटक–पटक गर्दै आएका ऐतिहासिक सङ्घर्ष, व्रmान्ति र जनआन्दोलनमार्फत अभिव्यक्त जनादेशको सम्मान गर्दै, प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न, राजनीतिक दलहरूका बीच भएको सहमति तथा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ को उपधारा (२) अनुरूप इतिहासले सुम्पेको अभिभारालाई आत्मसात् गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्को तर्फबाट माननीय प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले संविधानसभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको गणतन्त्रको कार्यान्वयन गर्ने सम्बन्धी देहायबमोजिमको प्रस्ताव संविधानसभाको पहिलो बैठकले बहुमतबाट पारित गरेको हुँदा सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ः
१. सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रही स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी नेपाल आजैका मितिदेखि एक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् परिणत भएको संविधानसभाको यो पहिलो बैठक घोषणा गर्दछ ।
२. मुलुकमा विधिवत् लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएकाले यससँग बाझिने सबै संवैधानिक प्रावधान, कानुन र प्रशासनिक व्यवस्था आजैका मितिदेखि बाझिएको हदसम्म खारेज भएको मानिनेछ । यो घोषणा पारित हुनुभन्दा तत्काल अघि प्रचलित कानुन, परम्परा, रीति सामाजिक तथा सांस्कृतिक व्यवहार एवम् अभ्यासमा रहेका तत्कालीन राजा र निजका परिवारका सदस्यलाई आम नेपाली नागरिकलाई भन्दा भिन्न रूपमा प्राप्त सम्पूर्ण अधिकार, सुविधा, हैसियत तथा उपाधि स्वतः अन्त्य हुनेछ ।
३. नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् घोषित भएको अवस्थामा राष्ट्रपतिको व्यवस्थालगायतका अत्यावश्यक प्रावधानलाई संवैधानिक रूपमा संस्थागत गर्न नेपालको अन्तरिम संविधान, २०६३ मा आवश्यक संशोधन विधेयक पेस गरिएको छ । राष्ट्रपतिको निर्वाचनप्रणालीलगायत अन्य आवश्यक विषयमा संविधान संशोधनसम्बन्धी अर्को विधेयक पेस गरिनेछ ।
४. नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् प्रवेश गरी नयाँ युग आरम्भ भएको ऐतिहासिक अवसरमा यो बैठकमा सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । यस अवसरमा सम्पूर्ण नेपाली जनतालाई हार्दिक बधाई ज्ञापन गर्दै आज र अब उप्रान्त प्रत्येक सालको जेठ १५ गते गणतन्त्र दिवसलाई हर्षोल्लासपूर्ण वातावरणमा व्यापक रूपमा विविध कार्यव्रmमहरूका साथ मनाउन देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरूमा यो बैठक हार्दिक आह्वान गर्दछ ।
५. नेपालमा लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भइसकेको सन्दर्भमा नारायणहिटी दरबार परिसर तथा यसभित्र रहेको सम्पूर्ण सम्पदालाई ऐतिहासिक सङ्ग्रहालयलगायत राष्ट्रिय हितमा उपयोग गर्न नेपाल सरकारले आवश्यक व्यवस्था मिलाउनेछ ।
समाप्त ।

तत्कालिन राजा श्री ५ ज्ञानेन्द्र शाहको अन्तिम वक्तत्व ।
नेपाली दाजुभाई, दिदीबहिनीहरु !

चार जात छतीस जातको साझा फूलबारीको रुपमा आजभन्दा दुइ सय चालिस बर्षअघि हाम्रो पूर्वज बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहबाट कल्पना र स्थापना गरिबक्सेको मुलुक आज अत्यन्तै गम्भीर र संवेदनशील संक्रमणको स्थितिबाट गुज्रिरहेको छ । देश र जनताको सुखदुखमा सहधर्मी एवं सहकर्मी रहेको नेपाली राजसंस्था नेपाली जनताकै समृद्धि तथा समुन्नतिमा अनुप्राणित हुँदै आएको सर्वविदितै छ ।
इतिहासको प्रत्येक कालखण्डमा राजा र नेपाली जनताको संयुक्त प्रयासबाट भएको एकीकरण, प्रजातन्त्रीकरण एवं आधुनिकीकरण पनि यसको ज्वलन्त उदाहरण हो । राष्ट्र, राष्ट्रियता, सार्वभौम नेपाल एवं राष्ट्रिय अखण्डतालाई हामी नेपालीले सधै जीवनमूल्य मानिआएका छौँ । यस मूल्य र मान्यताप्रति हाम्रो निष्ठापूर्ण उत्सर्ग भावना हिजो थियो, आज छ र भोलि पनि रहनेछ ।
देशमा आजभन्दा ७ बर्ष अगाडि एउटा असहज, दुखद र अनपेक्षित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्रध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्रधर्म, कूलधर्म र राजपरम्परा अनुरुप मुलुकको सार्वभौमसता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरुको समग्र प्रगतिबाहेक अरु कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउँछु । तत्कालीन हिन्दु अधिराज्य एवं बुद्धको जन्मभूमि नेपलामा शान्ति आओस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो, त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु । त्यसपछिका घटनाक्रम र परिणाम सबैका सामु किताबजस्तै खुल्ला छन् ।
मैले हिजो पदिय दायित्वका कारण व्यक्त गर्न नसकेको तर मेरो अन्तरआत्मामा गुज्रिरहेको केही कुरा ईश्वरलाई साक्षी राखी आज म पत्रकार मित्रहरु मार्फत नेपाली दाजुभाई, दिदीबहिनी एवं अन्तराष्ट्रिय समुदायसमक्ष राख्नु चाहन्छु । नियति नै भन्नुपर्ला म एउटा अबोध वालक छँदा मेरो शिरमा पहिर्याईएको श्रीपेच चुपचाप थाप्ने बाध्यताबाहेक मेरो न चाहना थियो, न त इच्छा, न त कुनै भूमिकाको गुञ्जायश नै थियो । त्यस्तै वि.सं. २०५८ साल जेठ १९ गते राती दोस्रो पटक फेरि एउटा अकल्पनीय त्रासदीपूर्ण घटना राजदरबारमा घट्दा मेरो पूजनिय दाजुभाउजु लगायत आफ्ना आत्मिय परिवारको वीभत्स विनास भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आँसु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तब्यको जञ्जीरमा बाँधिन विवश मेरा अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन । यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारप्रति लगाएको कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न कुनै उपाय नै थियो, नत हाम्रो तर्फबाट बोलिदिने नै कोही थिए । तत्कालिन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बद्नाम गर्ने काम निरन्तर रुपमा भइरह्यो, जुन मेरो लागि अति दुखदायी थियो र छ पनि । दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरु अझै पनि जीवितै छन् । उनीहरु त्यसका प्रत्यक्ष साक्षी पनि हुन् । सोही घटनामा घाइते भई बाँचेकी मेरी श्रीमतीको शरीरमा प्राविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरु अझै रहेका छन् । यस सम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरुबाट सत्यतथ्य पनि बाहिर आएकै थियो । उच्चस्तरीय छानविन आयोगले घटनाबारे सत्यतथ्य जनसमक्ष ल्याएकै हो । समस्त नेपाली जनता र राजसंस्था शोकविह्वल रहेको अवस्थामा यस्तो प्रकारसँग आक्षेप लगाउनु मानवीय समवेदनासँग मेल नखाने तथा राजसंस्थाप्रति नेपालीसामु रहेको सद्भावलाई विगार्ने र मात्र दुर्भावना फैलाउने रणनीति रहेको देखिन्छ ।
यस्तै अर्को कुरा मैले मेरो सम्पति विदेशमा राखेको छ भन्ने जस्ता लाञ्छनायुक्त प्रचार भएको पनि सुनेको छु । मेरो सम्पूर्ण सम्पति नेपालमै छ । मैले विदेशमा चल–अचल सम्पति राखेको छैन् । नेपालको कानुन अनुसार पूर्वजबाट मेरो नाममा आएको सम्पति पनि मैले व्यक्तिगत नाममा नराखी संस्थागत रुपमा राख्ने व्यवस्था समेत गरी त्यसको संरक्षण गरेको छु । विगत ७ बर्षमा मैले कुनै थप सम्पति मैले जोडेको छैन् । परम्परागत सम्पति घटाउने काम पनि भएको छैन् । राजपरिवारको कुनैपनि सदस्यको सम्पतिको हक छिनेको पनि छैन् । नेपालको प्रचलित कानुन अनुसार निजी सम्पति राख्न पाउने हक मलाई पनि हुने नै छ भन्ने विश्वास लिएको छु । जनताको चाहना र इच्छालाई नै सर्वोपरि मान्ने राजपरम्परा अनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको वैठकले गरेको निर्णयलाई मैले सहज वनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु । मैले देश छाडेर जाने सोच वनाएको पनि छैन् । म मातृभूमि नेपालमा नै वसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पूर्याउन चाहन्छु । यसका लागि सबै क्षेत्रवाट सहयोग हुने नै छ भन्ने आशा लिएको छु ।
हामी नेपालीका महान् पूर्वजहरुको रगत–पसिना र बलिदानले वनेको स्वतन्त्र र सार्वभौम रहँदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताको निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहेपनि सदा समर्पित रहने प्रण गर्दछु । मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ । स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ । स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ ।
परम्परागत रुपमा शाहवंशीय राजाहरुबाट प्रयोग भई शाहवंशको विरासतको रुपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित रुपमा राख्नेगरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्तरण गरेको छु ।
अन्त्यमा, राष्ट्रअध्यक्षको रुपमा नेपाल र नेपालीको हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन् हुने किसिमबाट काम गरेको थिइन् । म वा मेरो परिवारका कुनै सदस्यले विगतमा भएगरेको कामबाट कसैलाई पीडा पर्न गएको वा कसैको अधिकार हनन् हुनगएको भएमा अन्जानमा यस्तो काम हुनगएको वास्तविकता सबैले बुझिदिनुहुने नै छ भन्ने आशा लिएको छु । विगत ७ बर्षको कार्यकालमा मलाई सहयोग गर्ने समस्त नागरिक, संवैधानिक निकाय, न्यायिक क्षेत्र, सुरक्षा निकाय, राष्ट्रसेवक, शिक्ष, प्राध्यापक, विधार्थी किसान, मजदुर, उधोगपति, व्यापारी, बुद्धिजीबी, युवा धार्मिक संघसंस्था, नागरिक समाज, पत्रकार, राजप्रसाद सेवाका कर्मचारी लगायत विभिन्न तह र तप्कामा आवद्ध सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा म आभार व्यक्त गर्न चाहन्छु । नेपालको सधै भलो चिताउने छिमेकी मित्रराष्ट्रहरुका साथै अन्तराष्ट्रिय जगत र कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई पनि धन्यवाद दिन चाहन्छु । साथै, नेपाल सरकारको तर्फबाट राजदरबारमा खटिई काम गर्ने सुरक्षा एवं व्यवस्थापन समितिका सदस्यहरुलाई पनि धन्यवाद दिन चाहन्छु । नेपाल सरकारबाट वर्तमानमा भएको सहयोगका लागि धन्यवाद दिदैँ भविष्यमा पनि आवश्यक सहयोग प्राप्त हुने नै छ भन्ने आशा लिएको छु ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।
२०६५ जेठ २९ गते ।

 

Featured News

Advertisement