नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको सातौँ स्मृति दिवसमा श्रद्धाञ्जी सभा (संक्षिप्त परिचय सहित)
साउन ९ गते, इटहरी ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको सातौं स्मृति दिवशको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान सुनसरीले शुक्रबार इटहरीमा आयोजना गरेको श्रद्धाञ्जली सभामा विभिन्न वक्ताहरुले नेपाल कम्युनिष्ट निर्माणमा उनको योगदानबारे मन्तव्य व्यक्त गर्नु भएको छ ।
मन्तव्यका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धर्मराज निरौलाले संस्थापक कर्मचार्यसँग आफ्नो भेट भएको स्मरण गर्नु भयो । नेपाल कम्युनिष्ट (नेकपा) सुनसरी जिल्ला पार्टी इन्चार्जसमेत रहनु भएका निरौलाले भेट भएपनि अन्तरंग कुराकानी भने हुन नपाएको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘आज नेपालमा कम्युनिष्ट पार्टीले जुन उचाई हासिल गरेको छ, त्यसको श्रेय संस्थापकहरुलाई दिनु पर्छ ।’ देशका तीनै तहको सरकारको नेतृत्व नेकपाले गर्नुमा संस्थापकहरुको महत्वपूर्ण र ऐतिहासिक भूमिका रहेको उहाँले बताउनु भयो ।
नेकपाका संस्थापकहरु पुष्पलाल श्रेष्ठ, नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य भएको बताइन्छ । तर, कार्यक्रममा भने मोती देवी श्रेष्ठ र रत्नलाल ब्राम्हणसमेत नेकपाको संस्थापक भएको चर्चा चलाइएको थियो ।
उहाँले सबै संस्थापकहरुको स्मृति दिवस मनाउनु पर्ने बताउदै आजको सन्दर्भमा पार्टी एकतालाई अझ मजबुद बनाउनु पर्ने सवालमा जोड दिनु भयो । नेकपाको केन्द्रीय तहका शीर्ष नेतामा विवाद रहेकै सन्दर्भमा भएको कार्यक्रममा उहाँले अहिलेको विवादले पार्टी झन एकजुट हुने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो । नेताहरुले पार्टीको संगठनात्मक सीमा नाघेकोले विवाद उत्पन्न भएको र त्यसप्रति नेतृत्व सचेत रहनु पर्ने सुझाव पनि उहाँले व्यक्त गर्नु भएको छ । उहाँले अगाडि थप्नु भयो–‘पार्टीलाई मजबुद बनाउन नेतृत्वलाई खबरदारी गर्नु पर्छ ।’
त्यस्तै प्रतिष्ठानका अध्यक्ष एवम् सुनसरी सहइन्चार्ज निर्मल बरालले नरबहादुर कर्मचार्य जनयुद्धमा भौतिक रुपले सामेल नभएपनि अन्य सहयोग गरेको बताउनु भयो । उहाँले यस्ता प्रतिष्ठानहरुलाई आगामी दिनमा व्यवस्थित गरेर संचालन गर्ने योजना रहेको पनि स्पष्ट पार्नु भयो । बरालका अनुसार नेकपाको प्रथम महाधिवेशबाट मजदुर आन्दोलन हाँक्ने जिम्मा कर्मचार्यलाई परेको थियो । त्यसैले कर्मचार्य विराटनगरको जुट मिल आई त्यहाँका मजदुरहरुलाई संगठित गर्नु भएको इतिहास छ ।
त्यसैगरी, इटहरी उपमहानगरका प्रमुख एवम् पार्टीका प्रदेश कमिटि सदस्य द्वारिकलाल चौधरी, सोही पार्टीका इटहरी सहइन्चार्ज राजकुमार गिरीले श्रद्धान्जलीसभामा मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा प्रतिष्ठानका सदस्य अर्जुन उप्रेतीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानका अर्का सदस्य खगेन्द्र ओलीले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का इटहरी अध्यक्ष बहादुरसिंह तामाङ्ग (ज्वाला)ले गर्नु भएको थियो ।
कर्माचार्यको राजनीतिक यात्रा ।

नेपालको कम्युनिष्ट आन्दोलनमा स्वर्गीय कर्मचार्यकाे उल्लेखनीय भूमिका छ । १९८१ साल कात्तिक १४ गते भाइटीकाका दिन बुबा चन्द्रबहादुर र आमा श्रीकुमारी कर्माचार्यको कोखबाट ललितपुरको झपाटोलमा जन्मिएका भएका नरबहादुर प्रजातान्त्रिक योद्धा हुनुहुन्छ ।
उहाँ २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणा विरोधी आन्दोलनमा लाग्नु भयो । मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुभएको थियो उहाँले । प्रजातन्त्र संघ सक्रिय भइरहेका बेला उहाँलाई कांग्रेसबाट देश र जनताको पक्षमा केही हुँदैन भन्ने लाग्यो । त्यसपछि पुष्पलाल, नारायणविलास जोशी र निरञ्जन गोविन्द वैद्यसँग मिलेर २००६ साल बैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । कर्माचार्य चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित हुनुहुन्थ्यो ।
कर्माचार्य कम्युनिष्ट पार्टी स्थापनापछि उहाँले मजदुर संगठनको नेतृतव गर्नुभयो। विभिन्न आन्दोलनमा सक्रियता हुँदै उहाँ २०१६ सालमा ललितपुर नगरपालिकाको मेयर बन्नुभयो । त्यसपछि उहाँले नगरपालिकाको नेतृत्व र पार्टीको जिम्मेवारी सँगसँगै अगाडि बढाउनुभयो ।
२०१९ सालमा भएको नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। पार्टीमा त्यसपछि फुट र विभाजनको श्रृंखला शुरु भयो । उहाँ गुट र फुटमा नलागी स्वतन्त्र भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुन थाल्नु भयो र विभाजित समूहहरूलाई एकीकृत बनाउन निरन्तर प्रयास गर्नुभयो ।
चौथो महाधिवेशनसम्म आइपुग्दा विभिाजित भएकाहरुबीच एकता भयो । त्यसपछि चाैथाे महाधिवेनमा पनि उहाँ फेरि केन्द्रीय सदस्य हुनुभयो । नेकपा एकता केन्द्र निर्माण हुँदा उहाँ एकता केन्द्र तदर्थ समितिको अध्यक्ष समेत हुनुभयो। जीवनको अन्तिम समयमा उहाँ एकीकृत नेकपा माओवादीको संरक्षक हुनुहुन्थ्यो ।
कर्माचार्यले राजनीतिमा विभिन्न आरोह–अवरोह पार गर्नुभयो । यही क्रममा उहाँले विभिन्न पटक जेल र निर्वासित जीवन समेत बिताउनु पर्यो । कर्माचार्य जीवनभर अविवाहित रहनु भयो । ६५ वर्ष राजनीतिमा सक्रिय हुनु भएका कर्माचारीको २०७० साल साउन ९ गते निधन भयो ।








