कांग्रेसको पदाधिकारी बैंठक भोलि विहान ९ वजे वस्ने
२०७८ जेठ ११ गते, काठमाण्डौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाउनु भएको छ । बुढानिलकण्ठस्थित निवासमा बुधबार बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि बिहान पदाधिकारी बैठक बस्ने जानकारी दिनुभएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बैठक राखेका हुन् ।
गत शुक्रबार १४९ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको थिएन ।
प्रधानमन्त्रीमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले पनि दावी गर्नुभएको थियो । दुवैको दाबी नपुग्ने भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै चुनाव घोषणा गर्नुभएको थियो ।
तर कांग्रेसहित विपक्षी ५ दलले प्रतिनिधि सभा विघटनको विरोध गरेका छन् ।
संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा दलहरूले विरोध गरेका हुन् ।
आफूलाई बहुमत सांसदको साथ रहेको र प्रतिनिधि सभाबाटै वैकल्पिक सरकार गठन हुन सक्ने स्थिति रहेको भन्दै देउवासहित विपक्षी गठबन्धनका १४६ सांसद सोमबार सर्वोच्च अदालत गएका थिए ।








