शनिबार ९, कार्तिक २०८२ Sat,25 Oct 2025

सर्वाधिकार सुरक्षित

किताब पढ्नु पनि काम हो ?



13:28 मंगलवार १३ , फाल्गुन २०८१
  • रामप्रसाद खरेल

जमिन भर्खरै तातिदैथ्यो । मान्छेका शरिरबाट बाक्ला कपडाहरु वाहिरिदैथिए । न्यानोको ठाउँमा पातला शितल कपडाहरुले हस्तक्षेप गरिरहेका थिए । धरानपनि चिसो मौसफलाई विदाइ गरेर गर्मी सहन तयार हुँदै थियो । बसन्त ऋतुमा पालुवा फेरेका हरिया रुखहरु हेर्न र चराहरुको मिठो आवाज सुन्न सकिने समयको संघारमा उभिएका थियौं हामी । यो फागुनको महिना थियो । वि.सं. २०७९ सालको फागुन ।
धरान मोडल कलेजले “सकारात्मक सोच र आत्मविश्वास” सम्बन्धी एकदिने सेमिनार गरेको थियो । सेमिनारमा प्रमुख वक्ताको रुपमा मलाई राखिएको थियो । “सकारात्मक सोच र आत्मविश्वास” का लागि पुस्तक कसरी सहयोगी हुन सक्छन् ? भन्ने बिषयमा मैले केही कुरा वोलेको थिएँ । सेमिनार सकिएपछि एकजाना विधार्थी वहिनीले मलाई सोधेकी थिइन — “सर किताब पढ्नु पनि काम हो ?”
त्योवेला मैले “हो” भन्ने जवाफ मात्र दिए । व्याख्य गर्ने समय हामीसँग थिएन् ।
यही र यस्तै प्रश्नहरु विभिन्न कार्यक्रममा जादा मलाई सोधिएका छन् । म आफैँले पनि सोच्ने गरेको छु के पढ्नु पनि काम हो ?
औपचारिक शिक्षा अर्थात विद्यालय र विश्वविद्यालयमा अध्ययनको समय पुस्तक पढ्नु काम, त्यसपछि पुस्तक पढ्नु बेकाम भनेजस्तो भाष्य निमार्ण भएको छ । पढेलेखेका धेरै धनि मानिसहरुका घरमा मिनि बार हुन्छ तर मिनि पुस्तकालय हुँदैन् । विश्वविद्ययालको डिग्री लिएपछि पढ्ने काम सकियो भन्ने भाष्यले नै हाम्रा घरमा मिनि पुस्तकालय नभएका हुन् । पैसा नपुगेर, समय नभएर आदि कारण देखाउनु चै फगत वहाना मात्र हुन् ।
पढ्नु पनि काम हो ? भन्ने प्रश्नतर्फ लाग्दा जवाफ कस्तो हुन्छ होला ?
धरान मोडल कलेजकी विधार्थी, अरु धेरै विधार्थी र मेरो आफ्‌नै पनि प्रश्नको जवाफ यसरी दिन सकिएला कि !
किताब पढ्नु साँच्चै काम हो ? कसरी ?
किताब लेखेर, किताब बेचेर र किताब पढेर धनी हुन सकिन्छ । श्रमलाई पैसासँग जोडेर हेर्दा नियमित किताब पढ्नु पनि गज्जबको काम हो । 
तपाईँ शिक्षक हो ?
यदि तपाईँ शिक्षक हो भने अरुलाई पढाउनु जतिकै तपाईँले नियमित पढ्नु तपाईँको काम हो । नियमित रुपमा नपढ्ने शिक्षकले पढाएका विधार्थी सीप, शिक्षा र ज्ञानमा धारिला हुँदैनन् । विधार्थी कति जान्ने छ भन्ने कुरा उसको शिक्षक कति जान्ने छ भन्नेमा भरपर्छ । एउटा भनाई छ विधार्थी हेरेर शिक्षकको मूल्याङ्कन गर्न सकिन्छ । शिक्षकको जागिर शुरुगर्दा जेजति जानेको हुन्छ त्यही ज्ञानले जागिरको अवकासको समय आइपुग्दासम्म काम दिदैन् । काम चलाउन खोजियो भने दुइचार पुस्ता विधार्थी समय अनुकुल शिक्षा लिनबाट बञ्चित हुनपुग्छन् । शिक्षकले दैनिक ४ घण्टा पढाउनुपर्छ भने उसले आफूलाई अब्बल राख्न दैनिक ४ घण्टा पढ्नुपर्छ । नियमित नपढ्ने शिक्षक खुट्टा भएका हिड्न नसक्ने मानिसहरु मात्र हुन् ।
शिक्षक भनेका कक्षा कोठामा पसेर पाठ पढाउने वा रटाउने मात्र होइनन् । शिक्षक भनेका जीवनजगत बुझाउने, आन्नदमय जीवन जिउन सिकाउने र उत्कृष्ट संस्कृति निमार्णका नेतृत्वकर्ता हुन । अनि शिक्षकका लागि पढ्नु काम होइन त ?
तपाईँ पत्रकार हो ?
यदि तपाईँ पत्रकार हो भने खोज, अनुसन्धान र अध्ययन त समाचार लेख्नुभन्दा पहिलो खुट्किलोको काम हो । नियमित पुस्तक नपढ्ने टिपोटकार हुनसक्छन् तर पत्रकार हुनसक्तैनन् । पुस्तक पढेर त्यसैमा आधारित भएर लेखेर पैसा कमाउन सकिन्छ । पत्रकारकारलागि यति भन्न सकिन्छ – “जति धेरै अध्ययन  उतिधेरै आय ।”
तपाईँ डाक्टर हो ?
डाक्टर शरिरको रोग निदान गर्ने व्यक्ति त हो नै । तर ऊ त्यतिमात्रै होइन् । डाक्टहरु समाज रुपान्तरणका अभियान्ता पनि हुन् । उपचार पद्धति, औषधी विज्ञानका नयाँ कुरा, समाजमा फेरिदै गएको बिरामीहरुको मनोविज्ञान, मेडिकलसँग सम्बन्धित राज्यको कानुन आदि सबै बिषयमा डाक्टरहरु, स्वास्थ्यकर्मीहरुले अध्ययनलाई नियमित गर्नुपर्छ । अबको समाजले डाक्टर होइन उत्कृष्ट डाक्टर खोज्छ । डाक्टरमात्रको अपेक्षा गर्नु चै गरिबीले किचेका मानिसहरुको नियति हो । 
तपाईँ राजनीतिकर्मी हो ?
नियमित पुस्तक पढ्दैन, केही लेख्दैन भने त्यो व्यक्ति राजनीतिकर्मी होइन । राजनीतिकर्मी हो कि होइन भनेर छुट्याउने एउटा विधि भनेको उसको अध्ययन र लेखन हो । दैनिक परिष्कृत हुन नियमित अध्ययन आवश्यक छ । पलपलमा परिष्कृत हुन नसक्नेहरु खुकुरी चै हुन्छन् तर भुत्ते खुकुरी । उसो भए राजनीतिकर्मीहरुको लागि नियमित किताब पढ्नु भनेको उसको लागि मुख्य काम हो ।
तपाईँ व्यवसायी वा उद्यमी हो ?
पैसा धेरै कमाउन  झन धेरै पढनुपर्छ । नियमित अध्ययन विनाका व्यवसायीहरु ढिलोचाँडो घाटाको सागरमा डुब्छन् । संसारका सबभन्दा धनी व्यवसायीहरुको जीवनी पढ्दा, उनिहरुको दिनचर्या हेर्दा, सुन्दा थाहा हुन्छ कि उनिहरु नियमित पुस्तक पढ्ने गर्छन् । व्यवसायिक दुनियाँ बृहत छ । जतिधेरै धेरै प्रतिष्पर्धा छ त्यहाँ सफल हुन उति नै धेरै उत्कृष्ट हुनैपर्छ । उत्कृष्ट वन्न नसक्दा व्यापार गरिएको हुन्छ रपनि बृहतर हुन सकिएको हुँदैन् ।
तपाईँ किसान हो ?
किसान संसारका सबै मानिसहरुको आधारभूत आवश्यकता पूरा गरिदिने उत्पादक हुन । उद्योगहरुमा दुईखोले कच्चापदार्थ हुन्छन् । पहिलो जमिनमाथि उब्जिएको । दोस्रो, जमिनमुन रहेको । जमिनलाई उत्पादनशिल वनाउने व्यक्ति किसान हो । 
सबैको आधरभूत उत्पादक किसान हो भने उ उत्कृष्ट हुनुपर्छ कि पर्दैन् ? स्वास्थ्यबद्र्धक अन्न, फलफूल तथा सब्जीहरु उत्पादन गर्नुपर्छ कि पर्दैन् ? सही तरिकाले पशुहरुको पालन गर्नुपर्छ कि पर्दैन् ? आधारभूत आवश्यकता पूरा गरिदिने व्यक्ति सही भएन भने त्यसभन्दा माथिको अवस्था कस्तो हुन्छ ?
यी प्रश्नहरुले किसानले नियमित अध्ययन गर्नुपर्छ भन्ने देखाउदैन् र ? 
अन्य पेशा, व्यवसायका मानिसहरु जस्तै किसानले पनि नियमित किताब पढनुपर्छ । कृषि, पशुपालनमा पनि दिनदिनै नयाँ प्रविधिहरु विकास भइरहेका हुन्छन् । आफ्‌नो उत्पादनलाई वढाउन नयाँ प्रबिधिहरुको प्रयोग गर्नुपर्छ । उत्पादन वृद्धि भएमा आम्दानी वढ्छ । किसानको आम्दानी वढाउन किताबहरु सहयोगी हुन्छन् । किताब पढेर उत्पादन वढाउने ज्ञान लिन सकिन्छ भने नियमित पढनु अनिवार्य काम भएन ?
तपाईँ लेखक वा साहित्यकार हो ?
नपढने मान्छे लेखक, साहित्यकार वन्नै सक्तैन् । किताबहरुको धेरै खपत लेखकहरुले गर्छन भन्ने मान्यता छ । समाज नबुझी राम्रो लेखक वा साहित्यकार हुन असम्भव छ । किताबसँग प्रत्यक्ष जोडिएको हुन्छ लेखक । लेखकले त किताब लेखेर पनि पढेर पनि पैसा कमाउने हो ।
लेखक, साहित्यकार, कलाकारहरु भनेका समाजमा संस्कृति निमार्ण र विनिमार्णका अग्रदस्ता हुन् । किताबहरुले संसार धानेका छन् । संसारमा केही यस्ता किताब छन् जसलाई आधार मानेर मानिसहरु जीवन जिउछन् । राज्य सञ्चालन गर्छन् ।
तपाईँ को हो ? जोसुकै हुनुहोस केही फरक पदैन् । शिक्षक, डाक्टर, लेखक, पत्रकार, किसान वा अरु केही । सबैलाई किताब आवश्यक छ । नियमित अध्ययन आवश्यक छ ।
यति भनेपछि मलाई प्रश्न सोध्ने विधार्थी वहिनीको प्रश्नको जवाफ सविस्तार पुग्योहोला । 
यति पढेपछि तपाईँलाई महशुस भयो कि भएन नियमित किताब पढनुपर्ने रैछ भनेर ?
                                 

Featured News

Advertisement