शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’: बन्धकहरू रिहा गरेनौ भने एकजना बाँकी रहने छैनौ



09:08 बिहीबार २२ , फाल्गुन २०८१

एजेन्सी ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूको रिहाइका विषयमा हमासलाई 'अन्तिम चेतावनी' दिएका छन्।उनले सामाजिक प्लेटफर्म ट्रुथमार्फत आफ्नो कुराको सुनुवाइ भएन भने हमासका एक सदस्य पनि बाँकी नरहने धम्की दिएका हुन्। 

उनले लेखेका छन्, ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु, यदि उनीहरूले मेरो कुरा सुनेनन् भने हमासका एक जना पनि सदस्य सुरक्षित हुने छैनन्।’ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पको उक्त अभिव्यक्ति आएको हो।

आफ्नो सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले बन्धकहरू रिहा गरिएन भने हमासले ‘ठूलो मूल्य चुकाउने’ चेतावनी दिएका छन्।तर उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदै छन् भनेर स्पष्ट पारेका छैनन्।उनले आफ्नो पोस्टमा अगाडि भनेका छन्, ‘सबै बन्धकलाई तत्काल रिहा गर, पछि होइन र तिमीले मारेकाहरूको शव तुरुन्तै फिर्ता गर, नत्र सबै कुरा सकियो।’

‘यो तपाईंहरूलाईं अन्तिम चेतावनी हो नेतृत्वका लागि। गाजा छाड्ने समय आएको छ।’उनले सर्वसाधारणलाई धम्की दिँदै भनेका छन्, ‘साथै गाजाका जनतालाई सुन्दर भविष्यले पर्खिरहेको छ, तर तपाईंले बन्धक बनाउनुभयो भने होइन। यदि तपाईंले त्यसो गर्नुभयो भने तपाईं समाप्त हुनुहुनेछ।’

ट्रम्पको यो पोस्ट ह्वाइट हाउसमा हालै युद्धविरामअन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो।हमास र इजरायलबीच गत जनवरी १९ देखि लागू युद्धविरामको पहिलो चरण फागुन १७ (मार्च १) मै सकिएको छ। अमेरिकी प्रस्तावमा इजरायलले युद्धविरामको अवधि ६ हप्ता थप गरे पनि हमासले अस्वीकार गरेको छ। 

यसपछि इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको छ।हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो। जवाफमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणबाट अहिलेसम्म कम्तीमा ४८ हजार ३६५ जनाको मृत्यु भएको हमासको भनाइ छ। 

युद्धविरामको पहिलो चरणअन्तर्गत जनवरी १९ देखि मार्च १ सम्म हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ।बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ। हमासले बन्धक बनाएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ भने अझै अन्योलमा छ। 

Featured News

Advertisement