शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

मान्छेको टाउकोबाट पैसा टिप्दै, ओस्ता



09:28 बुधबार ११ , चैत्र २०७७

अविशेक खतिवडा
२०७७ चैत ११ गते, इटहरी ।

झट्ट हेर्दा शारीरिक रुपले अशक्त तर आँफुले  सक्दा–सक्दै माग्नु हुँदैन केही गरेर खानुपर्छ भन्ने सोच लिएर कपाल काट्ने पेसा गर्दै अघि बढ्नुभएको छ महमद खैरउल्ला ओस्ता । प्रत्यक दिन विहान ८ बजेबाट इटहरीको तुलसा टोलमा उहाँ मान्छेको टाउको बाट पैसा टिप्न थाल्नुहुन्छ । उहाँ भन्नुहुन्छ, – “सडकमा पैसा छ तर हामीलाई कहिल्यै टिप्न आएन ।”
रौतहटको एक मध्यम वर्गीय परिवारमा जन्मिनुभएका महमदमा सानैदेखि आँफैले केही गर्नुपर्छ भन्ने सोच थियो । पछि पढाइ गर्दै जाने क्रममा आमाबुवाले पनि केही गर्नुपर्छ भनेपछि उहाँमा अझ काम गर्ने इच्छा जागरित भएर आयो । त्यसपछि उहाँ गाउँका केटाकेटीलाई भेला पारेर कपाल काट्न थाल्नुभयो । एउटा खुट्टाले मात्र टेकेर कपाल काट्नुपर्दा शुरु–शरुमा त उहाँलाई निक्कै अफ्ठ्यारो हुने गथ्र्यो । जब उहाँले कपाल काट्नुलाई नै आफ्नो पेसाको रुपमा हेर्न थाल्नुभयो तब उहाँको पिडाहरु आफँै हटेर गयो । 
उहाँको भेनाको गाउँमा आफ्नै शैलुन थियो । भेनाले नै उहाँलाई बोलाएर धेरै कुरा सिकाउनुभयो । सिक्ने क्रममा भेनाको मुखबाट गाली र कहीँले काहीँ हातबाट एक दुइ झाप्पड पनि भेट्ने गर्नुहुन्थ्यो । तर उहाँले त्यसलाई पनि आफ्नो सिकाइको एउटा पाटोको रुपमा लिएर अघि बढनुभयो । उहाँ आफ्नो मावली गएर पनि केही समय बस्नुभयो । त्यहाँ बस्दा त झन् उहाँलाई गाउँका बच्चाहरुको कपाल काट्दा फुर्सदै नै हुँदैन थियो । त्यसले उहाँलाई आफ्नो पेसाप्रति दक्ष बनाउन थप मदत गर्यो ।
जन्मदा उहाँ आफ्ना दुवै खुट्टा लिएर जन्मिनु भएको थियो । पाँच वर्षको उमेरदेखि भने उहाँको खुट्टामा विस्तारै समस्या देखिन थाल्यो । त्यसपछि कतिले उहाँलाई नशा काटिएर खस्यो अथवा अघिल्लो जन्ममा गरेको कुकर्मको फल हो समेत भनेका थिए । तर विस्तारै बुझदै जाँदा बाल्यकालमा पाउनुपर्ने सबै उपचारहरु उचित रुपमा पाउन नसकेको कारण खुट्टामा समस्या देखापरेको रहेछ । बिचरा यी सबै कुरामा त्यो पाँच वर्षको कलिल उमेरीय बालकको के दोष थियो र । जो यो समाजको पुरानै हेर्ने दिृष्टिकोणबाट अछुतो रहन सकेन ।
समाजमा धेरै किसिमका मानिसहरु हुन्छन् । कसैले हेप्छन्, कसैले यो अपाङ्ग यस्तै हो पनि भन्छन् । तर आफुलाई समस्या भयो भन्दैमा विष खाने, फासी लगाउने जस्ता सोच उहाँमा कहिल्यै आएन । उहाँ त झन आफु दरो भए जस्तो समस्याको पनि सामना गरेर अघि बढ्न सकिने बताउनुहुन्छ । 
उहाँले कपाल काट्ने पेसा गर्दै आउनुभएको बाह्र वर्ष भयो । दैनिक पाँच देखि दश जना सम्म ग्राहक आउने उहाँको शैलुनमा मासिक रुपमा बिस देखि तीस हजारसम्म कमाइ हुुने गर्छ । ती ग्राहकहरुको सेवामा नै उहाँले आफुलाई पाउने गर्नुहुन्छ । सानैदेखि यही पेसा गर्दै आएर आजसम्म पनि यसैबाट घरपरिवार पालेको कारण आफुले यो पेसा नछोड्ने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “म यो पेसा छोडदिन तर यो पेसालाई सँगैलिएर भविष्यमा अर्को एउटा कुनै व्यवसाय गर्ने सोच भने चाहीँ बनाएको छु ।”
नेपालमा केही काम छैन भनेर युवाहरु खाडी मुलुक भासिएको देख्दा उहाँलाई अचम्म लाग्छ । नेपालमा नै एउटा सैलुन खोलेर बस्ने हो भने त्यति पैसा त आनन्दले कमाइहालिन्छ नि ! उहाँ भन्नुहुन्छ, – “युवाहरु विदेशमा गएर जति दुःख गर्नुहुन्छ त्यति दुःख आफ्नैँ देशमा गर्न सके त्यती पैसा त यहाको सडक–सडकमा छ । तर हामीले टिप्ने उपाय मात्र नजानेका हौँ ।” 
हामी जति लगानी लाएर विदेश जान्छौँ, त्यो लगानी लाउने पैसाले नेपलमै आफ्नो सानोतिनो व्यवसाय सञ्चलन गरेर महिनामा २०÷३० हजार सम्म कमाउन सकिने बताउनुहुन्छ ।
जतिसुकै अफ्ठ्यारो परिस्थिति आएपनि उहाँ आँफ्नो कामबाट भने कहिल्यै दिक्दार हुनुभएन । किनकी उहाँ जब बोतल÷प्लस्टिक टिप्ने मान्छेहरुलाई हेर्नुहुन्छ तब उहँलाई लाग्ने गर्छ, “ उनिहरुले त त्यो कामलाई घिन नमानी गर्छन् भने म त कपाल काटी रहेको छु नि त । त्यसैले म आँफुभन्दा पनि ठुलै काम गरिरहेको छु ।” त्यसैगरी उहँलाई हात खुट्टा सकुशल भएर भिक्षा माग्न हिड्ने सादुहरुलाई देखेर आफ्नो काम प्रति बफदार भएर लाग्न अझैँ प्रेरित गर्छ । 
उहाँ भन्नुहुन्छ, – “५० रुपैँया कमाउनुको साटो २० रुपैयाँ कमाए पनि चित्त बुझाएर खुसी हुन सिक्नुपर्छ । आँफुप्रतिको विश्वास र आफ्नो कामप्रतिको मायाले नै मानिसलाई काम गर्न उर्जा मिल्ने छ ।”

 

Featured News

Advertisement