शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

सेयर बजारमा सफल ट्रेडर बन्ने सात सुत्र 



12:33 शुक्रबार २५ , माघ २०८१
  • रामप्रसाद खरेल

सेयर बजारमा पैसा लगानी गर्नु कुनै असजिलो काम होइन । तर लगानीबाट धेरै भन्दा धेरै नाफा निकाल्नु चै सजिलो छैन् । संसारमा सेयर बजारमा मानिसहरु तीन रुपमा सहभागी भएका छन् । पहिलो लगानिकर्ताको रुपमा, दोस्रो कारोबारीको रुपमा । तेस्रो इन्भेष्टर तथा ट्रेडरको संयुक्त रुपमा ।
ट्रेडरहरुले आफ्‌नो लगानीमा कति प्रतिशत मुनाफा निकाल्ने हो त्यो उनिहरुको इन्भेष्टमेन्ट स्किलमा भर पर्छ । इन्भेष्टरहरुले फण्डामेन्टल र ट्रेडरहरुले टेक्निकल पार्ट हेर्ने गर्छन भन्ने कुरा हामीले बुझ्‌दै आएका छौँ । 
बित्तिय ज्ञान र लगानीको सीप जति धेरै भयो सफल हुने सम्भावना पनि उतिनै वढि हुन्छ । जब हामी अरुको सिफारिस र हल्लाको भरमा लगानी गर्छौ नोक्सानको सम्भावना पनि वढेर जान्छ ।
हामी कसरी सफल ट्रेडर वन्न सक्छौँ ? यसबारेमा संसारमा धेरै पुस्तकहरु लेखिएका छन् । तीनै पुस्तकहरु मध्ये मार्क क्रिप्सको ‘सेभेन ह्याबिट अफ अ हाइली सक्सेसफूल ट्रेडर’ पनि एक हो । यस पुस्तकले सफल ट्रेडर वन्न सात सुत्र प्रदान गरेको छ । सफल ट्रेडरका लागि मार्कका सात सुत्र यसप्रकार छन् :
१) सम्पूर्ण जिम्मेवारी वहन गर्ने 
मार्क भन्छन् – “सेयरमा गरेको सम्पूर्ण लगानीको जिम्मा स्वयम आफूले लिनुपर्छ ।”
सेयर बजार कुनै ट्रेडरको हातमा मात्र हुँदैन् । सेयर बजारलाई सरकारका नीतिनियम, राजनीति, समाचार तथा अन्य विविध पक्षले सकारात्मक तथा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । यदि हामीले गरेको लगानीमा घाटा वा नाफा हुन्छ भने त्यसको सम्पूर्ण जिम्मेवारी आफूले नै वहन गर्नुपर्छ । घाटाको दोष अरुलाई दिन थाल्ने हो भने हामी सफल सेयर व्यापारी वन्न सक्तैनौ । 
इन्साइडर ट्रेडिङ होस वा हल्ला यिनिहरुको बीचमा हामीले उचित रणनीति वनाएर नाफा कमाउनुपर्छ । बजारको मनोविज्ञानलाई क्यास गर्दा कहिलेकाहिँ घाटा पनि हुनसक्छ । 
मार्क भन्छन् : 
आफ्‌नो नियमलाई पछ्याउनुहोस् ।
तेस्रो पक्षलाई सोध्ने काम वन्द गर्नुहोस् ।
आफ्‌नो नियम र योजनाको समिक्षा गर्नुहोस् ।
यदि तपाईँले आफ्‌नो नियम र योजनालाई फ्‌लो गर्न सक्नुभएको छैन भने किन ?
जब तपाईँलाई तेस्रो पक्षको सल्लाह आवश्यक पर्दैन तब फेरि सेयर खरिदबिक्री गर्न थाल्नुहोस् ।
२) सिस्टम 
सफल लगानीकर्ता बन्न पहिले हामीसँग एउटा सिस्टम हुन आवश्यक छ । के हामीसँग लगानीको सही सिस्टम छ ? छैन् भने कुनैदिन हामी ठूलो घाटा सहित वजारबाट वाहिर निस्कनुपर्ने हुन्छ । व्यापार गर्नु अघि उचित प्रकारको प्रणाली तयार गर्नुपर्छ । त्यही प्रणालीमा रहेर सेयर कारोबार गरियो भने धेरै नाफा हात पार्न सकिन्छ ।
अर्को भाषामा भन्दा हामीसँग सेयर कारोबारको योजना चाहिन्छ । 
मार्कका अनुसार आफ्‌नो योजनाको बारेमा आँफूलाई यी प्रश्नहरु सोध्नुहोस् ।
क) म बार्षिक प्रतिफल कति प्रतिशत चाहन्छु ?
ख) म पूर्णकालिन ट्रेडर हो कि अल्पकालिन ?
ग) सेयर खरिदबिक्रीको समयमा घाटा लगायतका अन्य कारणले आउने व्यापारिक तनावलाई सहन र समाधान गर्न सक्छु ?
घ) सेयर बजार सम्बन्धी मैले के, कति पुस्तकहरु पढेको छु ? तालिम र अनुभव कति छ ?
प्रतिज्ञा गर्नुहोस् – “म, मलाई फिट हुने प्रणाली तयार गर्ने छु । यसैलाई फ्‌लो गरेर उत्कृष्ट ट्रेडर वन्नेछु । ”
३) व्यापारको योजना र योजनाको व्यापार 
मार्केटमा हरेक पटक स्क्रिप्टहरु किन्दा योजना बनाएको हुनुपर्छ । योजनामा व्यापार गर्नुपर्छ भने हरेक योजनाको पनि व्यापार गर्नुपर्छ ।
रिस्क, रिवार्ड र स्टप लस आदिको स्पष्ट योजना हुनपर्छ ।
भावनामा बगेर व्यापार गर्न हुन्न । भावनामा नबगी सेयरको बारोबार गर्ने एकमात्र तरिका हो योजनाप्रति अनुशासन । सेयरको दुनियाँमा सफल मध्ये तपाईँ पनि एक वन्न चाहनुहुन्छ भने योजनालाई अनुशासनपूर्वक कार्यन्वयन गर्नु नै हो ।
मार्कको भनाई छ – “हरेक व्यापारको योजना वनाउनुहोस र हरेक योजनामाथि व्यापार गर्नुहोस् ।”
४) निरन्तर अध्ययन 
सेयर बजार पनि अन्य व्यापार जस्तै हो । यसलाई पनि राम्रोसँग र निरन्तर गर्न अध्ययन तथा अनुसन्धानको आवश्यकता छ । सफल ट्रेडर वन्न सिकाईको प्रक्रियालाई कडा रुपमा जारी राख्नुपर्ने तर्क छ मार्कको । 
मार्कले भनेजस्तै निरन्तरको सिकाईले हामीलाई बजारको ट्रेन्ड, ट्रेडरहरुको मनोविज्ञान, कम्पनीहरुको गतिविधि, देशको आर्थिक गतिविधि, राजनीति र तिनले सेयर बजारमा पार्न सक्ने प्रभावको बारेमा थाहा हुन्छ । 
कुनैपनि कम्पनी वा सेयरको बारेमा समाचार आएर थाहा पाउनुभन्दा समाचार आउन सक्ने कुरा पहिले नै सूचना पाउनु सफल ट्रेडरको खुवी हो । अग्रिम सूचनाले घाटाबाट बच्न सकिन्छ ।
ट्रेडरले फण्डामेन्टल तथा टेक्निकल कुरा त जान्नै पर्छ । यसका अलवा बजारको मनोविज्ञान झन धेरै जान्नुपर्छ ।
सेयर बजारमा सफल वन्न कति बर्ष लाग्छ भन्ने कुराको यकिन नभएपनि मार्कले चारबर्षको समयलाई तयारी र व्यापार शुरु गर्न उचित हुने सिफारिस गरेका छन् ।
पहिलो बर्ष :
क) सेयर बजार तथा सेल्फ हेल्पसँग सम्बन्धित केही पुस्तकहरु पढनुहोस् । जसले तपाईँको व्यक्तित्व सेयर बजारको लागि उपयुक्त छ कि छैन भनेर थाहा पाउन मद्धत गर्छ ।
ख) सेयर बजार सम्बन्धी तालिम र सेमिनारहरुमा सहभागी वन्नुहोस् । वित्तिय विवरणहरु पढ्न र चार्ट प्यार्टनहरु बुझन सक्ने हुनुहोस् ।
यी दुबै काम गर्दा सेयर बजार आफ्‌नो लागि उपयुक्त छैन जस्तो लाग्छ भने ट्रेडर नवनी आफूसँग भएको बचत ब्लुचिप कम्पनीमा लगानी गर्नुहोस् । एकबर्षको सिकाईले सेयर कारोबारसँग आफ्‌नो व्यक्तित्व मिल्छ कि मिल्दैन भन्ने कुरा थाहा पाइन्छ । हामीले बुझिराख्नुपर्ने कुरा के छ भने व्यवसाय र व्यक्तित्व मिलेन भने सफल हुन सकिदैन् ।
दोस्रो बर्ष :
क) थोरै लगानीबाट सेयर कारोबार गर्न शुरु गर्नुहोस् । यो सिकाईको समय हो ।
ख) अध्ययन, तालिम, सेमिनार र सफल ट्रेडरहरुसँग छलफल गरिरहनुहोस् ।
ग) आफूलाई सहज हुने आफ्‌नै प्रकारको ट्रेडिङ शैली विकास गर्नुहोस् ।
घ) आफ्‌नो रणनीतिहरु सही भए कि भएनन् समिक्षा गरेर अघि वढ्नुहोस् ।
ङ) ट्रेडिङमा आफू सफल हुन्छु भन्ने निश्चित भएमा लगानी वढाउनुहोस् ।
पैसा कमाउनु वा गुमाउनुभन्दा पनि आफ्‌नो योजनालाई फ्‌लो गर्नु महत्वपूर्ण हो । कति रकमबाट कारोबार शुरु गरियो भन्दा यी प्रश्नहरु आफूलाई सोध्नुहोस् ।
पैसा कम हुँदा मेरो प्रतिक्रिया कस्तो हुन्छ ?
के म मेरा नियमहरुलाई पछ्याउन सक्छु ?
के मेरो योजनाले कारोबारको लागि लामो समयसम्म काम गर्न सक्छ ?
बजार डाउन भएर पोर्टफोलियोमा धेरै घाटा देखियो भने हामी कसरी सोच्दछौँ र घाटालाई कम गर्न पूरक योजना कस्तो वनाउँन सक्छौ ? यसबारेमा पनि अग्रिम रुपमा पेपर वर्क भएको हुनपर्छ ।
तेस्रो बर्ष :
सानोतिनो घाटामा पनि खेल खेलिरहनुहोस् जति तपाईँको रिस्क लिने क्षमता छ । जोखिमलाई व्यवस्थापन गर्दै अघि वढ्नुहोस् । आफूसँग बचत रकम छ भने लगानी वढाउदै लैजान सकिन्छ । 
चौथो बर्ष :
के तपाईँ चौथो बर्षमा आइपुग्दा पनि कारोबार गरिरहनुभएको छ ? यदि नाफामा कारोबार गरिरहनुभएको छ भने आफूलाई सक्षम कारोबारीको रुपमा प्रमाणित गरिसक्नुभएको छ ।
अब फेरि पनि जोखिम र नाफाको बीचमा खेलिरहन सक्छु भन्ने लाग्छ भने थप रकम लगानी गरेर अघि वढ्न उचित हुन्छ ।
नाफा लिएर पनि थाक्नुभयो भने सेयर बजारबाट सुरक्षित रुपमा निस्कनु उचित हुनसक्छ । तर चार बर्षको एउटा साइकलमा तपाईँ जोखिमहरुकै बीचमा पनि नाफा निकाल्न सक्षम भइसकेको हुनुहुन्छ ।
५) सकारात्मक आत्मविश्वास
“सबै साँच्चो कुराहरु हजारौँ पटक सोचिसकिएका छन् । तर ती साँच्चो कुराहरुलाई आफ्‌नो बनाउन हामीले इमान्दारपूर्वक फेरि एक पटक सोच्नुपर्छ जबसम्म तिनिहरुले हाम्रो व्यक्तिगत अनुभवहरुमा जरा गाड्दैनन् ।”
–गोएथे
मार्कले गोएथेको कुरालाई सन्दर्भ राख्दै के भन्छन् भने प्रणाली मात्रै राम्रो वनाएर हुँदैन त्यसलाई पालना गर्ने कडा अनुशासन पनि चाहिन्छ । सही प्रणालीलाई अनुशासनसँग पालना गर्दै जाँदा सकारात्मक आत्मविश्वासको विकास हुँदै जान्छ ।
जब हामीलाई हाम्रो काममा शंका लाग्छ तब प्रणालीमाथि मूल्याङ्कन गर्नुपर्छ । आफ्‌नो पनि मूल्याङ्कन गरिहाल्नुपर्छ ।
सेयर कारोबार भावनामा वहकिने चिज होइन यो त सही प्रणाली निमार्ण गरेर अनुशासन सहित निरन्तर गरिरहने एक वित्तिय प्रक्रिया हो । यसैले सफल ट्रेडर हुनका लागि सकारात्मक आत्मविश्वास राख्नुपर्दछ ।
६) कारोबार अंकलाई स्कोरको रुपमा लिनुहोस, पैसाको रुपमा होइन् 
मार्क भन्छन् – “आफ्‌नो समय पालनाको नियमलाई आत्मविश्वासका साथ पछ्याउनुहोस र अरु कुरालाई विर्सिदिनुहोस् ।”
उनका अनुसार सेयर अंकको खेल हो । तर यसलाई पैसाको रुपमा नभई स्कोरको रुपमा हेर्नुपर्छ । उनि भन्छन् – “मैले मेरो नियम अनुसार सेयर किन्ने, बेच्ने र होल्ड गर्ने गर्नुपर्छ पर्छ ।”
आफ्‌नो योजना अनुसारको रकम लगानी गर्नु रिस्क तथा रिवार्डको लाइन तयार गर्नु । स्टप लसको विन्दु फिक्स गर्नु आदि नियमभित्र पर्छन् । घाटा काट्नुहोस् । नाफालाई चल्न दिनुहोस् । र बजारको प्रवृतिमा व्यापार गर्नुहोस् ।
७) सन्तुलित जीवनको अंशको रुपमा सेयर कारोबार गर्नुहोस् 
सेयर कारोबार सफल होस वा नहोस तर यो तनावपूर्ण क्यारियर हो । सेयर कारोबारमा नाफा कमाउने जतिकै गुमाउने पनि सम्भावना हुन्छ । जस्तोसुकै परिस्थितिमा पनि हामीले सन्तुलित रुपमा आफ्‌नै विवेकले काम गर्नुपर्छ ।
लगानीमा ठूलो जोखिम हुँदाहुँदै पनि सफल ट्रेडरहरुले कसरी सन्तुलित राख्छन् ?
क) उनिहरुले धेरै अगाडी जिम्मेवारी लिने निर्णय गरेका हुन्छन् र काम गर्न शुरु गर्छन् ।
ख) उनिहरुसँग आफूसँग मिल्ने प्रणाली हुन्छ ।
ग) उनिहरु प्रत्येक ट्रेडमा उत्कृष्ट योजना वनाउँछन् ।
घ) उनिहरुले प्रणालीमा काम गरेका हुन्छन् र त्यसलाई निरन्तरता दिन्छन् ।
ङ) उनिहरुलाई आफ्‌नो प्रणाली र आफूप्रति विश्वास छ । र त्यसलाई कार्यन्वयन गर्ने कौशल पनि सिकेका हुन्छन् ।
च) अंकको खेलको रुपमा काम गर्छन ।
छ) उनिहरुले पहिले नै सिकिसकेका छन् कि एक्लै बजारलाई नियन्त्रण गर्न सकिदैन् ।
सेयर कारोबार पनि जीवनको अन्य कुनै पक्षभन्दा फरक छैन् । कहिले शिखरमा पुगिन्छ कहिले पतालमा । सफलताको लागि एउटा निश्चित समय गुर्जान नै पर्छ । सेयर बजारबाट रातारात धनी वन्न सकिदैन् । तर जीवनलाई सन्तुलित राख्दै काम गर्न सकियो भने दश बर्षको समय अवधिमा राम्रो नाफा आर्जन गर्न सकिन्छ । तीस वा चालिस प्रतिशत नाफा कमाउन मुस्किल छैन् । तर निरन्तर सिक्न, चार्ट हेर्न, बजारको विश्लेषण गर्न र कारोबार गर्न छाड्न हुँदैन् ।
जर्बजस्ती कमाउने भन्दापनि लाभदायक र सफल कारोबार गर्ने प्रयास गर्नुपर्र्छ । मार्कका अनुसार सफल र लाभदायक व्यापारभित्र यी चार कुरा पर्दछन् ।
क) बुझेर गरिएको
ख) धेरै समय र श्रम खर्च गर्न नपर्ने 
ग) सरल
घ) तनावमुक्त
अन्त्यमा,
मार्क क्रिप्सका सिद्धान्तलाई फ्‌लो गरेर हामी सफल ट्रेडर वन्न सक्छौँ । वा उनको सिद्धान्तबाट पाठ सिकेर हामीले नयाँ सिद्धान्त तयार गर्नपनि सक्छौँ । पैसा मात्र लगानी गरेर सेयर कारोबारबाट नाफा कमाउन सकिदैन् । नबुझी गरिएको लगानी डुब्न सक्छ । बजार यति वृहत हुन्छ कि तपाईँको जति पैसा पनि खाइदिन सक्छ । यदि नाफा बुक गर्ने नै हो भने पहिले सिक्ने, बुझ्‌ने अनि लगानी गर्ने गर्नुपर्छ ।

Featured News

Advertisement