शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

जिरो टु वान, कसरी भविष्य निमार्ण गर्ने ?



16:25 आईतवार २७ , माघ २०८१
  • रामप्रसाद खरेल

“एउटा स्टार्टअपले गर्नुपर्ने काम यही हो, प्राप्त विचारहरुलाई प्रश्न गर्नु र व्यवसायलाई सुरुदेखि नै पुनर्विचार गर्नु ।”
: पिटर थिएल
सन् २०१४ मा अमेरिकाबाट एउटा पुस्तक प्रकाशन भयो जिरो टु वान, नोट्स अन स्टार्टअप्स अर हाउ टु ब्युल्ड द फ्युचर । पुस्तकले संसारभर राम्रो चर्चा पायो । द इकोनोष्टि पत्रिकाले यो बिताबको बारेमा लेख्यो – “ स्पष्ट रुपमा लेखिएको तर्कसङ्गत र व्यवहारिक  किताब ।” यसैगरी फोर्ब्सले लेख्यो – “अर्थशास्त्रको एक शानदार पुस्तक ।”
यस किताबका लेखक हुन – पिटर थिएल ।
“यस पुस्तकले संसारमा मूल्य कसरी सिर्जना गर्ने भन्ने बारे नयाँ र पून परिमार्जन गर्ने विचारहरु प्रदान गर्छ ।” – मार्क जुकरबर्ग, सिइओ फेसबुक 
“पिटर थिएलले धेरै सफल कम्पनीहरु बनाएका छन, यसलाई शून्यदेखि एकले देखाउछ ।” 
– एलन मस्क 
द टाईम्स पत्रिका लेख्छ – “ उद्यमशीलतामा एउटा संक्षिप्त विचार उत्तेजक दुर्लभ पुस्तक ।”
पिटर थिएल र जिरो टु वान ।
सन् २०१२ मा पिटर थिएल अमेरिकाको स्टयान फोर्ड विश्वविद्यालयमा प्रवचन दिनेगर्थे स्टार्टअपहरुको बारेमा । उनको प्रवचनलाई उनकै विद्यार्थी ब्लेक मास्टर्सले टिपोट गर्थे । अन्तिममा तिनै टिपोटहरुको सङ्कलनको रुपमा जिरो टु वान पुस्तक प्रकाशन भयो । किताबमा जम्मा १४ ओटा शिर्षकमा स्टार्टअपका बारेमा टिप्पणीहरु लेखिएका छन् । अन्तिम भागमा निष्कर्ष दिइएको छ ।
पिटर थिएल विश्व अर्बपतिहरुको सूची २०२४ मा ३ सय ५४ नम्बरमा छन् । उनको ७.५ विलियन डलरको नेटवर्थ छ । उनि बराबरको सम्पति एन्थोनी बामफोर्ड र परिवार, टेरी गौ अनि जेफ ग्रीनसँग पनि छ । अमेरिकाका ४ सय धनीभित्र उनि १ सय १६औं नम्बरमा छन् । अमेरिकी धनीमा उनिसँग रामजी मुसल्लम बराबारीमा छन् । पिटरको सम्पतीको मूख्य स्रोत भनेको पेपाल, फेसबुक र प्लान्टिर आदि कम्पनी हुन । पिटर फेसबुकको कोफाउण्डर र पेपालको संस्थापक हुन् । २०१९ देखि उनि विलिनियर्स रहदै आएका छन् । 
जिरो टु वानले खासमा के भन्छ ? अर्थात के सिकाउँछ ?
जिरो टु वान पेपाल, फेसबुक, गुगल वा अन्य कुनै कम्पनीको सफलताको कथा होइन । र यो पिटरको सफलताको कथा पनि होइन । मलाई लाग्दैन कि यो अर्थशास्त्रको गतिलो किताब हो । सफलताको सुत्र सिकाउने अचुक अस्त्र पनि होइन । त्यसो भए कस्तो किताब हो त ? पिटरकै शब्दमा – “जिरो टु वान भनेको नयाँ चीजहरु सिर्जना गर्ने कम्पनीहरु कसरी निमार्ण गर्ने भन्ने बारे हो ।…….यो पुस्तकले सफलताको लागि कुनै सुत्र प्रदान गर्दैन । उद्यमशीलता सिकाउने विरोधाभास यो हो कि यस्तो सुत्र अनिवार्य रुपमा अवस्थित हुन सक्तैन । किनकी प्रत्येक नवीनता नयाँ र अद्धितीय हुन्छ, कुनै पनि अधिकारीले कसरी नवीन हुने भनेर ठोस रुपमा तोक्न सक्दैन ।”
द ४६ रुल्स अफ जीनियस एन इनोभेटर गाइड टु क्रिएटिभिटीका लेखक मार्टी न्यूमेयर समिक्षा गर्दै फोर्ब्समा लेख्छन् – “यसमा धेरै ताजा र अर्न्तदृष्टि र व्यक्तिगत सत्यहरु छन् जुन तपाईँले अर्को ठूलो कुरा आविष्कार गर्ने बारेमा अन्य पुस्तकहरुबाट पाउनुहुनेछैन् ।”
पिटरले आफ्‌ना र अरु सफल उद्यम तथा उद्यमीका अनुभवका कुरामात्र लेखेका छैनन्, आफ्‌ना विचारहरुपनि जर्बजस्त राखेका छन् । उनि उद्यमलाई प्रतिष्पर्धाबाट बचाउनुपर्ने तर्क राख्छन् । व्यवसायमा एकाधिकार नै सफलताको सुत्र हो भन्छन् । उनको दावी के छ भने व्यवसायमा धेरै क्षण एक पटक मात्र हुन्छ । उनि लेख्छन् – “अर्को बिल गेट्सले अपरेटिङ सिस्टम बनाउने छैनन् । अर्को ल्यारी पेज वा सर्गेई ब्रिनले खोज इन्जिन बनाउने छैनन् । र अर्को मार्क जुकरबर्गले सञ्जाल सिर्जना गर्ने छैनन् ।”
उनि व्यवसाय सफलतामा चमत्कारमा विश्वास गर्छन् । प्रबिधिलाई एक चमत्कार मान्छन् । प्रविधिले हामीलाई कम समय र लगानिमा धेरै काम गर्ने क्षमता दिन्छ भन्ने उनको तर्क छ ।
द च्यालेन्ज अफ द फ्युचर, पार्टी लाइक इट्स १९९९, अल ह्यापी कम्पनीज आर डिफ्रेन्ट, द आइडोलोजी अफ कम्पिटिसन, लाष्ट मुभर एडभान्टेज, यू आर नट अ लट्री टिकट, फ्‌लो द मनी, सेक्रेट्स, फाउण्डेसन, द मेकानिज अफ माफिया, इफ यू ब्युल्ड इट, विल दे कम ?, मेन एण्ड मेशिन र सिइङ ग्रिन गरी १४ शिर्षकमा लेखेका छन् ।
जीरो टु वानले उद्यमशीलताको प्रगतिलाई दुई भागमा बाड्छ । पहिलो, भर्टिकल वा इन्टेन्सिभ प्रगति । दोस्रो, होरिजेन्टल वा एक्सटेन्सिभ प्रगति । शून्यदेखि एक सम्म अर्थात संसारमा अहिलेसम्म नभएको कुरा गरेर प्रगति गर्नु भर्टिकल हो । एकदेखि एन सम्म अर्थात पहिले भइसकेको कामलाई पछ्याएर प्रगति गर्नु होरिजेन्टल हो । 
पिटरको धारण छ – स्टार्टअपहरु नयाँ प्रविधि र नयाँ उद्यमहरुबाट आउछन् । सकारात्मक रुपमा परिभाषित गर्दा स्टार्टअप भनेको मानिसहरुको सबैभन्दा ठूलो समूह हो जसलाई तपाईँ फरक भविष्य निर्माण गर्ने योजनाको बारेमा विश्वस्त पार्न सक्नुहुन्छ । नयाँ कम्पनीको सबैभन्दा महत्पूर्ण शक्ति भनेको नयाँ सोचाइ हो ।
नयाँ उद्यमीहरुले अघिल्लो पुस्ताले सिकेको पाठबाट सिक्न सकिने प्रस्ताव गरेका छन् । जसले हाम्रो व्यवसायिक सोचलाई मार्गदर्शन गर्न सक्छन् ।
१. वृद्धिशील प्रगति गर्नुहोस् ।
२. लचिलो रहनुहोस् ।
३. प्रतिष्पर्धा सुधार गर्नुहोस् ।
४. बिक्रीमा होइन, उत्पादनमा ध्यान दिनुहोस् ।
बजारमा एकाधिकारलाई महत्व दिने पिटर स्टार्टअपहरुलाई यी सात प्रश्नको जवाफ खोज्न सिफारिस गर्छन् ।
१. प्रविधि – के तपाईँ अभूतपूर्व प्रविधि सिर्जना गर्नसक्नुहुन्छ ?
२. समय – के सुरु गर्ने समय अहिले सही हो ?
३. एकाधिकार – के तपाईँ सानो बजारको ठूलो हिस्साबाट सुरुवात गर्दै हुनुहुन्छ ?
४. टोली – के तपाईँसँग सही टोली छ ?
५. बिक्री – के तपाईँसँग उत्पादन डेलिभर गर्ने कुनै तरिका छ ?
६. भविष्य – के तपाईँ बजार भविष्यमा १०/२० बर्षसम्म सुरक्षित हुनेछ ?
७. गोप्य – के तपाईँले कुनै अनौठो अवसर पहिचान गर्नुभएको छ ?

पिटरको एउटा प्रश्न छ जुन उनि आफैँलाई पनि सोध्न चाहन्छन् । प्रश्न छ – “कुन महत्पूर्ण सत्यमा धेरै कम मानिसहरु तपाईँसँग सहमत छन् ?” 
निष्कर्ष,
नबप्रर्वद्धन र स्टार्टअपहरुका लागि यो किताब एक सन्दर्भ सामग्री हुनसक्छ । यस पुस्तकको अध्ययनले नवप्रर्वद्धन र स्टार्टअपहरुका लागि नयाँ तरिकाले सोच्न अनि सिर्जनशील हुन सिकाउँछ । जो व्यवसायिक यात्रामा निस्कन खोज्दैछ वा केही यात्रा गरिसकेको छ उनिहरुका लागि लाभदायक छ । समिक्षक सेबास्टियन मार्टिनले भनेजस्तो यसलाई स्टार्टअपको बारेमा पहिलो पुस्तक झै नपढ्नुहोस् । एक सफल स्टार्टअपको कथाको रुपमा पढ्नुहोस् र आफूलाई काम लाग्ने विचारहरु लिनुहोस् ।
जिरो टु वानले हामीलाई केही व्यवसायिक सिद्धान्त दिन्छ, केही राजनीति र दर्शन मिसिएको विचार दिन्छ । केही कुरामा तत्‌काल सहमत हुन सकिन्छ भने कुनै कुराले इतिहासको फाँटमा जान ढोका खोलिदिन्छ । 
यही किताब पढेर सफल भइहाल्ने सोचले भन्दा एक सफल उद्यमीको कथा पढ्ने शोखले पढ्नुभयो भने तपाईँलाई मज्जा आउनेछ ।
पिटर प्रतिष्पर्धा कम, एकाधिकार वढि हुने व्यवसायको स्टार्टअपलाई सिफारिस गर्छन् । उनि लेख्छन् – “तपाईँले जति कम प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ, मार्केटिङ युद्धको सट्टा उत्पादनमा ध्यान केन्द्रित गर्ने सम्भावना त्यति नै बढी हुन्छ ।”

Featured News

Advertisement