शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

संसारको सबैभन्दा महान् सेल्सम्यान र आग मेन्डिनो



12:16 बुधबार २३ , माघ २०८१
  • रामप्रसाद खरेल

म सफल नभएसम्म लागिरहनेछु । म यस संसारमा हार्नको लागि आएको होइन्, न त मेरो नसामा असफलता दौडिरहेको छ । म मेरो गोठालोले उक्साउन पर्खिरहेको भेडा होइन । म सिंह हुँ र म भेडाहरुसँग बोल्न, हिँड्न र सुत्न अस्वीकार गर्छु । असफलताको वधशाला मेरो भाग्य होइन । म सफल नभएसम्म अडान लिनेछु । म आजै र अहिल्यैदेखि काम शुरु गर्नेछु ।
: सिद्धान्त सुत्र नौं ।
नेपाली भाषामा प्रकाशित “संसारको सबैभन्दा महान् सेल्सम्यान” पुस्तक “द ग्रेटेष्ट सेल्सम्यान इन द वर्ल्ड” को नेपाली अनुवाद संस्करण हो । यस पुस्तकका लेखक आग मेन्डिनो हुन् । नेपाली भाषामा पाँचपोखरी प्रकाशन गृहले अनुवाद तथा सम्पादन गरी प्रकाशन गरेको हो । नेपाली संस्करणमा जम्ममा १ सय १६ पेज रहेका छन् । करिब ३ घण्टाको बसाइमा यो पुस्तकको अध्ययन सकिन्छ ।
“द ग्रेटेष्ट सेल्सम्यान इन द वर्ल्ड” पुस्तक सन् १९६८ जनवरी १ मा प्रकाशन भएको थियो । यसको जम्मा १११ पेज रहेको थियो । संसारका २५ भन्दा वढी भाषामा अनुवादित यो पुस्तक ५० मिलियन प्रति बिक्री भइसकेको छ ।  यसको दोस्रो भागको रुपमा “द इन्ड अफ द स्टोरी” को प्रकाशन सन् १९८८ मार्चमा भएको थियो ।
आग मेन्डिनो संसारका एक चर्चित र सफल लेखक हुन । यो चर्चा र सफलताको लागि उनले गरेको सङ्घर्षको यात्रा पनि कठिन छ । ७३ बर्षको आफ्‌नो जीवनकालमा सङ्घर्षका अनेकौ आरोहअवरोह पार गर्नुपर्यो । उनको जन्म डिसेम्बर १२, १९२३ मा नैटिक, म्यासेचुसेटस संयुक्त राज्य अमेरिकामा भएको थियो । सेम्टेम्बर ३, १९९६ मा उनि यो संसारबाट सधैका लागि विदा भए ।
मेन्डिनोले बेटसँग डिसेम्बर ९, १९५७ मा दोस्रो विवाह गरेका थिए । उनिहरुबाट एक सन्तानको जन्म भयो । राम्रो कमाइ नभएको र रक्सिको लतमा फसेकाले पहिलो श्रीमति र छोराले उनको साथ छाडेका थिए ।
उनको औपचारिक शिक्षा स्कुल लेभलभन्दा माथि पुग्न सकेन । आमाको मृत्यूको कारण उनले उच्च शिक्षा लिनबाट वञ्चित भएका थिए ।

सन् १९४२ मा उनि कागज कारखानामा काम गर्न पुग्छन् । केही समय पछि अमेरिकी बमबर्षक विमानमा आर्मीको रुपमा काम गरेको पाइन्छ । आर्मीको जागिर छाडेपछि बीमा कम्पनीमा बीमा अभिकर्ताको रुपमा आफ्‌नो सेल्स यात्राको शुरुवात गरेको पाइन्छ ।एक समय उनि रक्सीको लतमा फस्न पुगेका थिए । जब उनि रक्सिको लतमा परे त्यो समय सडकमै सुत्ने गर्थे । एकदिन सडकमा अधिक चिसोका कारण झण्डै ज्यान गुमाउन पुगे । यस घटनाबाट उनि सचेत हुन पुगे । यही सचेतनाको कारण सबै काम छाडेर पुस्तकालय गएर पढ्न र किताब लेख्न थाले । पुस्तकालयहरु धाएर सफलता, मनोरञ्जन लगायतका सयौं किताबको अध्ययन गरे । पुस्तकालयमा उनले एउटा किताब भेट्टाए डब्लू क्लेमेन्ट स्टोनको “क्लासिक सक्सेस थ्रो अ पोजिटिभ मेन्टल एटिच्युड” । यही किताबले उनको जीवन बदलिदियो । यस पुस्तकले गरिदिएको परिवर्तन पछि उनि आफैं किताब लेख्न थाले र संसारको सफल लेखकहरुको सूचीमा आफ्‌नो नाम लेखाउन सफल भए । उनि नेपोलियन हिल, डब्लू क्लेमेन्ट र एमेट फक्सबाट प्रेरित थिए । उनले ४५ बर्षको उमेरमा पहिलो पुस्तकको रुपमा “द ग्रेटेष्ट सेल्सम्यान इन द वर्ल्ड” को सन् १९६८ मा प्रकाशन गरेका थिए ।
मन्डिनोका २५ पुस्तक प्रकाशन भएका छन् । संसारभर विभिन्न भाषामा अनुवाद भएका छन् ।


संसारको सबैभन्दा महान् सेल्सम्यान 
आफ्‌नै मालिक आफैं बन्न चाहनेहरुलाई ………..भनेर यो पुस्तकको नेपाली अनुवाद शुरुवात हुन्छ ।
“यो पुस्तक प्रत्येक सेल्सम्यानले पढ्नुपर्छ । पुस्तकलाई बिछ्यौनाको कोठामा राख्नुपर्छ । सिरानीमै राखेपनि हुन्छ । आवश्यक पर्दा पढ्दै गर्नुपर्छ । मैले नरोकिई पूरै पढेँ । यसको कथा मौलिक र शानदार छ । शैली पनि रोचक र आकर्षक छ । सन्देश प्रेरणादायक र प्रभावकारी छ । प्रत्येक मानिस एउटा सेल्सम्यान हुन्छ । सबैभन्दा पहिला उसले बिचार बेच्नुपर्छ । यदि यो पुस्तक हामीले पढ्याँै, बुझ्यौँ र जीवनमा उतार्न सक्यौँ भने यसले हामीलाई महान् सेल्सम्यान बनाउन सक्छ ।”
–    डा. लुई विनस्टाक रैब्बी टेम्पल 
“द ग्रेटेष्ट सेल्सम्यान इन द वर्ल्ड” मा जम्मा १८ भाग रहेका छन् । यो पुस्तक हाफिद र इरस्मसको संवाद हो । किताब कथात्मक शैलीमा प्रस्तुत गरिएको छ । सक्सेस मोटिभेसन इन्स्टिच्युट इन्कका पाल जे. मेयर प्रेसिडेन्टले भनेका छन् – “सेल्सम्यानमा आधारित रहेर छापिएका प्रत्येक पुस्तक मैले पढेको छु । आग मेन्डिनोले आफ्‌नो पुस्तकमा ती सबै पुस्तकको रस भरिदिएका छन् । यस पुस्तकमा उल्लेख गरिएका सिद्धान्तहरुको पालना गर्ने व्यक्ति सेल्सम्यानको रुपमा कहिल्यै असफल हुन सक्तैन । यी सिद्धान्तलाई नअपनाई महान् सेल्सम्यान बन्न पनि सक्दैन । लेखकले सिद्धान्तहरु बताउन वाहेक पनि एउटा महत्वपूर्ण काम गरेका छन् – उनले सिद्धान्तहरुलाई अत्यन्तै रोचक कथामा ढालेका छन् ।”
यस पुस्तकमा मुख्य ४ जना पात्र रहेका छन् । संसारको महान् सेल्सम्यान हाफिद र उसको खजान्ची इरस्मस, हाफिदको गुरु पाथरोस र साल (पाल) । 
यीनै चारजना व्यक्तिहरुको संवादमा आधारित कथा यसमा रहेको छ । यो जीवन दर्शनको किताब हो जुन सफलता चाहने हरेक मानिसका लागि महत्वपूर्ण छ, केवल सेल्सम्यानको लागि मात्र होइन । 
पूरै किताब हाफिदले आफ्‌नो जीवनको सेल्स यात्राको रहस्य इरस्मसलाई सुनाएको कथा हो । हाफिद एक टुहुरो केटा जसलाई पाथरोसले पुत्र मानेर पालेको हुन्छ । पाथरोस सफल सेल्सम्यान हुन्छन् । पाथरोसको सफलता देखेको हाफिदलाई पनि संसारको महान् सेल्सम्यान वन्ने हुटहुटी जाग्छ । हाफिदको काम भनेको पाथरोसको चौपायाको चाकर गर्ने हुन्छ । अर्थात गोठालो । महान् सेल्सम्यान वन्ने इच्छा पाथरोससँग राखेपछि उनले हाफिदलाई दश सिद्धान्त दिन्छन् । पाथरोसको तीनै सिद्धान्तले हाफिद संसारको महान् सेल्सम्यान वन्न सफल हुन्छन् । 
आफ्‌नो जीवनको अन्तिम समयमा आएर हाफिद ती सिद्धान्त संसारलाई सुनाउन र सिकाउन चाहन्छन् । पाथरोसले दिएका सिद्धान्त लिएर संसार घुम्ने एक असल पात्रको प्रतिक्षामा हाफिद रहेका हुन्छन् । एक दिन असल पात्रको रुपमा आइपुग्छन् – पाल । सधै गोप्य राखेको कुरा अर्थात सेल्सम्यानको सिद्धान्त पाललाई हाफिदले हस्तान्तरण गर्छन् । ती दश सिद्धान्त लिएर पाल संसारलाई सेल्स कला सिकाउन निस्कन्छन् । पालको यात्रा शुरुवातसँगै किताबको कथा अन्त्य हुन्छ । यहाँभन्दा अगाडि के हुन्छ त्यो कुरा चै “द इन्ड अफ द स्टोरी ” पुस्तकमा उल्लेख गरिएको छ । 
भाग सातसम्म  हाफिदको सफलताको रहस्य छ । भाग ८ देखि १७ सम्म हाफिदलाई पाथोरसले दिएका सिद्धान्तहरु छन् । भाग १८ मा हाफिदले पाललाई महान् सेल्सम्यान वन्ने सिद्धान्त हस्तान्तरण गर्छन् ।
नेपाली अनुवादमा किताबमा उल्लेख गरिएका पाथोरसबाट प्राप्त १० सिद्धान्तहरु निम्न अनुसार छन् । 
१) आज म एउटा नयाँ जीवन सुरु गर्नेछु ।
२) म आफ्‌नो आत्मामा प्रेम भरेर दिनको शुरुवात गर्नेछु ।
३) म सफल नहुँदासम्म जुटिरहनेछु ।
४) म प्रकृतिको सबैभन्दा महान् चमत्कार हुँ ।
५) म आजको दिन भरपूर बाँच्नेछु । मानौं आज मेरो अन्तिम दिन हो ।
६) आज म आफ्‌ना भावनालाई काबूमा राख्नेछु ।
७) म यो संसारलाई देखेर हाँस्नेछु ।
८) आज म आफ्‌नो जीवनको मूल्य सयगुणा बढाउनेछु ।
९) म आजै र अहिल्यैदेखि काम शुरु गर्छु ।
१०) खतरामा पर्दा कसले पुकारेको छैन होला भगवानलाई ? म सधै भगवानसँग प्रार्थना गर्नेछु ।
किताबमा दिएका सिद्धान्तहरु सेल्सम्यानहरुका लागि मात्र नभएर सबै मानिसहरुका उतिकै रुचीपूर्ण र प्रभावकारी छन् । उत्प्रेरणाको लागि यो पुस्तक एक चम्किीलो तारा हो, जसले सफलताको बाटो देखाउछ ।
एउटा राम्रो उपन्यास पढेजस्तो लाग्दालाग्दै पुस्तक पढिसकिन्छ । यस किताबको यति कुरा सम्झिराखे बाँकीं सम्झनामा आफैँ आउँछन् – “सफल नभएसम्म लागिरहनेछु । मैले सफल हुन जानेको छु ।”
अन्त्यमा,
“म द ग्रेटेष्ट सेल्सम्यान इन द वर्ल्ड पढेर अत्यन्तै रोमाञ्चित हुन पुगेँ । अहिलेसम्म मैले पढेका पुस्तकमध्ये यो निस्सन्देह सबैभन्दा महान् र मर्मस्पर्शी छ । यो कति राम्रो छ भन्ने बिषयमा म दुईवटा कुरा जोड्न चाहन्छु – १. पूरै पढेर नसकी तपाईँले यो पुस्तक भुइँमा राख्नुहुने छैन् । २. प्रत्येक मानिसले कुनै न कुनै चीज बेच्छ, त्यसैले यो पुस्तक अवश्य पढ्नुपर्छ ।”
: रार्वट कि हेस्ले
प्रेसिडेन्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ केन्टकी

Featured News

Advertisement